
बैंकिङ खबर/ लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडमा आवद्ध ग्राहक सदस्यहरुले कनेक्ट आइपिएसको माध्यमबाट वित्तीय कारोबार गर्न सक्ने भएका छ । कनेक्ट आइपिएस प्रयोग गरिरहेका र आगामी दिनमा कनेक्ट आइपिएससँग आवद्ध हुने ग्राहक सदस्यले यो सुविधा पाउने छन् । संस्थाको कोर बैंकिङ्ग सिस्टममा कनेक्ट आइपिएसलाई एकिकृत गरेसँगै अनलाइनबाट नै कर्जाको किस्ता तथा बचत जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको हो ।
नविनतम डिजिटल प्रविधीमैत्री कारोबारलाई प्रवद्र्धन गर्ने तथा समुदायमा डिजिटल साक्षरता बढाउने उद्धेश्यले कनेक्ट आइपिएस सेवाको सुचारु गरिएको हो । नेपालमा लघुवित्त क्षेत्रमा लक्ष्मी लघुवित्त कनेक्ट आइपिएससँग आवद्ध हुने पहिलो संस्थाको रुपमा परिचित भई आफ्नो स्थान कायम गरेको छ ।
ग्राहक सदस्यहरुबाट भौतिक रुपमा वित्तीय कारोबार भइरहेकोमा यस अघिबाट नै इ सेवा मार्फत कर्जाको किस्ता तथा बचत जम्मा गर्ने व्यवस्था कार्यान्वयनमा रहि आएको छ । इसेवा तथा कनेक्ट आइपिएसले क्यासलेस वित्तीय कारोबारमा नयाँ आयाम थप्न सक्ने विश्वास गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाखभन्दा बढी ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । त्यस्तै गरी संस्थाले ७.७५ अर्ब कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २.३७ अर्ब बचत संकलन गरेको लघुवित्तका कार्यकारी अधिकृत प्रकाशराज शर्माले जानकारी दिनुभएको छ ।




