
बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार शुरु गरेको छ । एकीकृत कारोबारपश्चात बनेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मोक्ष प्रसाद पंगेनीलाई नियुक्त गरेको छ ।
वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच शनिबार एकीकृत कारोबार शुरु भएको थियो । एकीकृत कारोबारपश्चात सञ्चालक समितिको बैठकले पंगेनीलाई चैत १९ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । पंगेनी तत्कालिन सूर्योदय लघुवित्त वित्तीय संस्थाका सीईओ समेत हुनुहुन्छ ।
त्यस्तै, लघुवित्तको सोही बैठकले तत्कालीन वोमी लघुवित्तका सीईओ प्रमेश आचार्यलाई सूर्योदय वोमी लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनी कम्पनी सचिव समेत रहनुभएको छ ।
त्यस्तै, लघुवित्तको अध्यक्षमा विन्दिया श्रेष्ठ प्रधान बन्नुभएको छ । यसअघि तत्कालिन वोमी लघुवित्तको अध्यक्ष समेत रहेकी विन्दिया श्रेष्ठ प्रधानलाई सूर्योदय वोमी लघुवित्तको अध्यक्षमा नियुक्त गरेको हो ।
सूर्योदय वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय हाल वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहेको वागमती प्रदेश काभ्रेपलाञ्चोक बनेपा नगरपालिका १३, साँगामा रहने छ । मर्जपछि दोस्रो बजारमा कारोबार खुला गर्नका लागि लघुवित्तले प्रकृया अगाडि बढाइसेको छ ।