
बैंकिङ खबर/ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिलाई पूँजी बढाउन नसके मर्जरमा जान आग्रह गर्नुभएको छ । बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समसामयिक विषयमा बिहीबार भएको छलफलमा अध्यक्ष सिलवालले भन्नुभयो, ‘तोकिएको अवधि भित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पुर्याउन नसके मर्जरमा जानुस् ।’
बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।
सिलवालले धेरै लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो । अध्यक्ष सिलवालले भन्नुभयो, ‘बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो । पूँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो । पूँजी पुर्याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्वपूर्ण आधार भनैकै पूँजी हो । यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ ।’
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पूँजी वृद्धिको योजना माथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तयार रहेको बताउनुभयो ।
सो क्रममा बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूले बीमा समितिले गरेको चुक्ता पूँजी वृद्धिको निर्णय पालना गर्न आफूहरू तयार रहेको बताउनुभएको थियो । पूँजी वृद्धिमा समस्या परे त्यसको समाधान गर्न अभिभावकका रूपमा बीमा समिति तयार हुनुपर्नेमा जोड दिनुभएको थियो ।



