बैंकिङ खबर/ काठमाडौंको नक्सालमा मुख्य कार्यालय रहेको निर्धन संस्थाले २०७८ चैत्र १३ गते देखि १५ गते सम्म झापा जिल्लाको दमक न.पा. वडा नं. ५ मा संस्थाका महिला ग्राहक सदस्यहरु मध्येका ३० जना विपन्न ग्राहक सदस्यहरुलाई व्यवसायिक तालिम दिएको छ । तालिममा
दमक नगरपालिका पशु पक्षी विभागका विभागीय प्रमुख गणेश कुमार प्रधानद्वारा ब्यावसायिक रुपमा बंगुरपालन गर्ने सम्बन्धी सम्पूर्ण प्राविधिक ज्ञानकासाथै बंगुर उत्पादन पश्चात् बजारीकरणका बारेमा समेत प्रशिक्षण दिनुभएको थियो । त्यसै गरी दमक शाखाका शाखा
प्रमुख अग्नि पौडेलले आफ्नो मन्तव्य मार्फत प्रशिक्षार्थीलाई तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न आह्वान गर्नुभयो । उहाँले उक्त तालिममा सहभागी महिलाहरुलाई लघुबीमा, खर्च मूल्यांकन तथा व्यवस्थापन, नाफा नोक्सानको हिसाब राख्ने लगायत लघुवित्तको बारेमा विस्तृत जानकारी सहित प्रशिक्षण दिनुका साथसाथै व्यवसाय संचालन गर्न र विस्तार गर्न आवश्यक पूँजी निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा उपलब्ध गराउन सकिने समेत जानकारी गराउनुभयो ।
त्यसैगरी सहभागीहरुको तर्फबाट चन्द्रकला मगर र शिवा धामीले आयोजकहरुलाई धन्यवाद दिँदै आफूहरुलाई बंगुरपालन सम्बन्धि सामान्य जानकारी रहेतापनि यस तालिम मार्फत ब्यावसायिक रुपमा बंगुर पालन गर्न आवश्यक सम्पूर्ण ज्ञान प्राप्त हुनुका साथै व्यवसायिक रुपमा बंगुरपालन व्यवसाय गर्न आम्दानी र खर्चको हिसाब राख्नुपर्ने र लघुबीमाको माध्यमबाट जोखिमसमेत न्यूनीकरण गर्न सकिने सम्बन्धमा विस्तृत जानकारी प्राप्त भएकोले उपरोक्त तालिम आफूहरुलाई ज्यादै लाभदायी हुने बताउनुभयो ।
तालिमको समापन कार्यक्रमका प्रमुख अतिथीदमक न.पा. ५का वडा अध्यक्ष इन्द्र बहादुर गुरुङले आफ्नो मन्तव्य राख्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न र लघुउद्यमी बन्न शुभकामना व्यक्त गर्नुभयो ।

आयोजकको तर्फबाट निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिस रत्न कोनजोले यस संस्थाको उद्देश्य गरीबीलाई दिगो रूपमा घटाउन विपन्न वर्गलाई वित्तीय सेवा र वित्तीय पहुँचको साथै वित्तीय साक्षरता, सीपमुलक तालिम तथा ब्यावसायिक साक्षरता लगायतका अन्य गैरवित्तीय सेवा पनि आवश्यक हुन्छन् भन्ने मान्यताका धनी नेपालका लघुवित्तका पिताको रूपमा सम्मानीत मौद्रिक अर्थशास्त्री डा. हरिहर देव पन्तले अङ्गालेको बाटोलाई निरन्तरता दिंदै ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक तथा सामाजिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता तालिम, ब्यावसायीक तालिम,विभिन्न सेवामूलक र सचेतना मूलक कार्यक्रम संचालन गर्दै आईरहेको जानकारी गराउनुको साथै सहभागी महिलाहरुलाई तालिममा हासिल गरेका सीपलाई व्यवहारमा उतारी सफल उद्यमी बन्न आग्रह गर्नुभयो ।




