Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गरिमा विकास बैंकले शुरु गर्‍याे मर्चेन्ट बैंकिङको काम

२०७८ चैत्र १४ गते


बैंकिङ खबर/ गरिमा विकास बैंकले मर्चेन्ट बैंकिङ काम शुरु गरेको छ । बैंकले केसीएल अस्ट्युटको ५१.२० प्रतिशत सेयर खरिद गरी सोमबार देखि गरिमा क्यापिटलको नामबाट सेवा शुरु गरेको हो । बैंकले ११ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको केसीएलमा १२ करोड ३९ लाख रुपैयाँ पुँजी थप गरी ५१.२० प्रतिशत सेयर खरिद गरेको हो ।

बैंकले खरिद गरेपछि गरिमा क्यापिटलको चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ पुगेको छ । गत असार पहिलो साता गरिमा विकास बैंकले केसीएलको ५१.२० प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको थियो ।

केसीएलको बहुमत सेयर स्वामित्व खरीद गर्ने समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकाल र केसीएल अस्ट्यूट क्यापिटलका तर्फबाट अध्यक्ष दिपक पाण्डेयले गत असार ४ गते शुक्रबार हस्ताक्षर गर्नुभएको थियो ।
गरिमा विकास बैंकले बहुमत सेयर किने पछि केसीएल अस्ट्यूट क्यापिटललाई गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा अगाडि बढाइने सम्झौता भएको थियो ।

सोही अनुसार क्यापिटलको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरिएको हो । सबै प्रकृया पूरा भए पश्चात कम्पनी रजिष्ट्रारको कार्यालयले चैत ७ गते केसीएल अस्ट्युट क्यापिटलको नाम गरिमा क्यापिटल बनाउन स्वीकृति दिएको थियो ।

गरिमा क्यापिटलले आगामी दिनमा सेयर रजिष्ट्रार, अण्डर राइटर, निष्कासन तथा बिक्री प्रबन्धक, सामूहिक लगानी कोषको व्यवस्थापक लगायतका काम गर्ने कम्पनीका अध्यक्ष दिपक पाण्डेले बताउनुभयो । पूँजीका हिसाबले तेस्रो ठूलो मर्चेन्ट बैंकर गरिमा क्यापिटलले प्राइभेट इक्वीटी र भेन्चर क्यापिटलमा पनि काम गर्ने योजना रहेको बैंकले जनाएको छ ।

Ad