Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सबैको लघुवित्त वित्तीय संस्थाद्वारा ब्यवसायिक केरा खेती तालिम सम्पन्न

२०७८ चैत्र ४ गते

बैंकिङ खबर/ तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २७ जना ग्राहक सदस्यहरु तथा ग्राहक सदस्यहरुका अभिभावकहरुको सहभागितामा चैत्र १ र २ गते नवलपरासी (पश्चिम) जिल्लाको प्रतापपुरमा “ब्यवसायिक केरा खेती तालिम” सम्पन्न गरेको छ । संस्थाका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठले यसको जानकारी गराएका हुन् । तालिममा प्रशिक्षक विवेकठाकुर, चन्द्रकान्त भुज, पवनकुमार श्रेष्ठ, विक्रम उपाध्याय, निशा चौधरी रहेका थिए ।

तालिममा सहभागीहरुलाई स्वागत मन्तब्य प्रतापपुर शाखाका प्रमुख निशा चौधरीले गरेकी थिइन् भने तालिमको उद्देश्य बारेमा संस्थाका नयाँमिल मुकाम कार्यालयका सुपरीवेक्षण अधिकृत विक्रम उपाध्यायले प्रकाश पारेका थिए ।

तालिमको समापन कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष हेमेन्द्रकुमार पञ्जियारले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । वडाध्यक्ष पञ्जियारले यस गाउँपालिकामा हालसम्म कुनै पनि लघुवित्त वित्तीय संस्थाहरुले यस्तो किसिमको तालिम नदिएको जानकारी गराउँदै, सबैको लघुवित्त वित्तीय संस्थाले यस्तो किसिमको तालिम यस क्षेत्रमा दिएकोमा संस्थालाई धन्यवाद दिएका थिए । वडाध्यक्ष पञ्जियारले तालिममा सहभागीहरुलाई ब्यवसायिकरुपमा केरा खेती गर्न हौंस्याउँदै ब्यवसायिकरुपमा केरा खेती गरेर आआफ्नो परिवारलाई समृद्ध बनाउन तर्फ लाग्न विभिन्न सल्लाह प्रदान गरेका थिए ।

तालिममा सहभागीहरुले केरा खेतीको परिचय, महत्व, सम्भावना, केरा खेतीको उपयोग, केरा खेतीको लागि उपयुक्त हावापानी, केराका जातहरु, जातिय विशेषता, केराको बगैंचा ब्यवस्थापन र पोष्ट हार्भेष्ट लगायतका विषयमा जानकारी लिएका थिए ।

संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यसबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए ।

तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई प्रतापपुर गाउँपालिका–६ कठहवाँका स्थानीय ब्यवसायिक उद्यमी कृषक मजिद मियाँको बीस विघाहामा फैलिएको केरा खेती फार्म, केराको बीऊ उत्पादन प्रविधि र सुस्ता गाउँपालिका–४, नर्सही जर्लैयाका स्थानीय उद्यमी कृषक धनबहादुर गुरुङ्गको १४ कट्ठामा फैलिएको केरा खेती फार्म अवलोकन गरेका थिए ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, वौद्धिक विकास गर्दै आईरहेको छ ।

यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आइरहेको छ। संस्थाले ०७८ माघ मसान्तसम्ममा ७० हजार ६२९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ। संस्थाले ०७८ माघ मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अर्ब ४६ करोड रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब १६ करोड बचत परिचालन गरेको छ ।