
बैंकिङ खबर/ कर्णाली वित्तीय सम्मेलनमार्फत युवा स्वरोजगार कोषले १३ लाख रुपैयाँ भन्दा बढी व्याज अनुदान फिर्ता गर्ने भएको छ ।
मिडिया इन्टरनेशनलले बिहीबारदेखि कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्न लागेको दुई दिने ‘कर्णाली प्रदेशमा वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी’ मार्फत कोषले उक्त रकम फिर्ता गर्न लागेको हो ।
कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले ७० जना भन्दा बढी सफल उद्यमीहरुलाई उक्त व्याज अनुदान फिर्ता गर्ने बताए । उनका अनुसार रकम फिर्ता गर्ने कार्यक्रम शुक्रबार रहेको छ ।
बैंकिङ खबरसँगको कुराकानीमा उनले भने, ‘हामीले कोअपरेटिभ संस्थामार्फत व्यवसायीहरुलाई स्वरोजगार सिर्जना गर्छौ । त्यो लगानी गरेर राम्रोसँग काम गरेर कोषलाई रकम फिर्ता गर्छन् । त्यो फिर्ता गरेको रकममध्येबाट ६० प्रतिशत रकम हामीले फेरि उहाँहरुलाई फिर्ता गर्छौं । उहाँहरुले तिरेको व्याजबाट ६० प्रतिशत व्याज फिर्ता गर्ने हो । उदाहरणका रुपमा १० रुपैया तिर्नुभएको छ भने ६ रुपैयाँ व्याज हामीले उहाँहरुलाई भुक्तानी दिन्छौं ।’
कोषले विगतदेखि नै व्याज अनुदान वितरण गर्दै आएको छ । उनले भने, ‘हामीले कर्णाली प्रदेश वित्तीय सम्मेलन कार्यक्रममै शुक्रबार १३ लाख रुपैयाँ भन्दा बढी फिर्ता गर्ने कार्यक्रम राखेका छौं ।’
विगत ७ वर्षदेखि देशव्यापी रुपमा संचालित ‘वित्तीय जागरण : राष्ट्रिय अभियान‘ले कर्णाली प्रदेशमा पहिलोपटक कार्यक्रम आयोजना गर्न लागेको यस कार्यक्रम बिहीबारदेखि शुरु भएको कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिए ।
विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेषगरी वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ ।
मूलतः एउटै छानामुनिबाट कर्णाली प्रदेशको विकास र उद्यमशीलताका लागि कर्णाली प्रदेशका उद्यमी, व्यवसायी, स्थानीय जनप्रतिनिधिहरु, बैंकर, तथा उद्यमशीलतामा लाग्न चाहाने आम व्यक्तिलाई एकै ठाउँमा सहभागि गराई दुईदिनसम्म संचालन हुनेगरी विशेष कार्यक्रम आयोजना गर्नु आवश्यक ठानी यो कार्यक्रम तर्जुमा गरिएको हो । विशेषगरी यस कार्यक्रम मार्फत वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ ।
बैंकिङ सूचना अभावमा बैंकिङ क्षेत्रले गर्ने कामबारे समेत कतिपय नेपालीलाई जानकारी छैन । बैंकिङ क्षेत्रबाट हुने लगानीका विधि वा बैंकिङ क्षेत्रले दिने कर्जा र ब्याजबारे समेत थाहा नहुँदा बैंकबारे नागरिक अनभिज्ञ छन् । यसर्थ, बैंकिङ सूचनाप्रवाह गर्नु तथा आमनागरिकको बैंकिङमा पहुँच बढाउनु र उनीहरूलाई बैंकबाटै कर्जा लिएर उद्यमशीलताको विकास गर्न योग्य तुल्याउनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।
बीमा क्षेत्रको विस्तार हुन नसक्दा भइपरि आउने जोखिमबाट समेत नागरिक पीडित छन् । जीवन बीमा होस् या सम्पत्तिको बीमा, बीमाको समग्र आयामबारे जनचेतना बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यसर्थ, बीमाको विकास, विस्तार तथा यसको आवश्यकता र महत्वबारे आमनागरिकलाई जानकारी गराउनु तथा बीमा गर्नुका बहुआयामिक फाइदा बुझाएर बीमा क्षेत्रलाई फराकिलो बनाउनु यस कार्यक्रमको अर्को लक्ष्य रहेको छ ।
आमनागरिक पुँजीबजारमा प्रवेश गर्न चाहन्छन्, त्यसबारे जान्न चाहन्छन् । यसर्थ, यस कार्यक्रमले आमनागरिकसमक्ष पुँजीबजारसम्बन्धी सूचना पु¥याई पुँजीबजार शिक्षालाई गाउँ–गाउँसम्म फैलाउने र पुँजीबजारको विस्तार गर्ने लक्ष्य लिएको छ ।
हुन्डीजस्ता अनधिकृत कारोबारबाट देशलाई राजस्वमा भएको नोक्सान न्यूनीकरण गर्नु, हुन्डी सञ्चालन अवैधानिक भएकाले त्यसबाट पैसा पठाउँदाका हानि–नोक्सानीबारे चेतना अभिवृद्धि गर्नु, आधिकारिक रेमिट्यान्सबाट मात्र पैसा पठाउने बानीको विकास गराउनु यस कार्यक्रमको अर्को उद्देश्य हो ।
युवा विद्यार्थीलाई कार्यक्रममा सहभागी गराई उनीहरूलाई वित्तीय रूपमा साक्षर बनाउनु, नेपालमै उद्यमी बन्न प्रेरित गर्ने तथा बैंकिङ टेक्नोलोजीसम्बन्धी जानकारी गराउनु, उद्यमशीलताको विकासमा पुँजी परिचालनजस्ता विषयमा नागरिकलाई जागरुक बनाउनु कार्यक्रमको लक्ष्य रहेको छ ।
पछिल्लो समय विकास भएको फाइनान्सियल डिजिटलाइजेसनको प्रयोगात्मक अभिवृद्धि गर्न पनि आमनागरिकलाई बैंकवित्तको विद्युतीय कारोबार एवं बीमा र सेयरबजारमा भित्रिएका नयाँ टेक्नोजोलीबारे जानकारी गराउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, स्थानीय सरकार, विभिन्न बैंकवित्त, बीमा कम्पनी तथा डिजिटल प्लेटफर्म, लघुवित्त, जस्ता कम्पनीका बारे सूचनामूलक स्टलहरु प्रदर्शन हुनेछन् । ती सूचना स्टलबाट वित्तीय चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
कर्णाली प्रदेश सरकार मुख्य साझेदारीमा रहेर संचालन हुन लागेको उक्त कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गर्दै आएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ लगायतका संघसंस्थाको सहभागिता रहेको छ । दुईदिनसम्म सुर्खेतमा संचालन हुने उक्त कार्यक्रममा कर्णालीको विकास, उद्यमशीलता, बैंकिङ तथा वित्तीय लगानी, कर्णाली प्रदेशको वित्तीय पहुँच, फाइनान्सीयल डिजिटलाइजेशन, कर्णाली प्रदेशको बीमा पहुँच, स्वरोजगार र उद्यमशीलता तथा लघु उद्यमशीलता जस्ता विषयहरुमा अन्तक्र्रियात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।