
बैंकिङ खबर/ पछिल्लो समय बैंकहरुमा तरलताको अभाव भइरहँदा यसको असर लघुत्तिमा पनि परेको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा ह्रास आएको पाइएको हो ।
सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरु निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था मात्र रहेका छन् ।
२०७८ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा २०७८ असारको तुलनामा १३.६७ प्रतिशतले ह्रास भई रु. ३ अर्ब १८ करोड पुगेको छ ।
२०७८ पुस मसान्तमा तरल सम्पत्ति÷कुल निक्षेप अनुपात ७.९३ प्रतिशत रहेको छ । २०७७ पुस र २०७८ असार मसान्तमा यस्तो अनुपात क्रमशः ८.२५ प्रतिशत र ९.८९ प्रतिशत रहेको थियो ।
सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०७८ पुस महिनाको वैधानिक तरलता अनुपात र अनिवार्य मौज्दात अनुपात क्रमशः ४.३६ प्रतिशत र २.५४ प्रतिशत रहेको छ ।
समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात तोकिएको न्यूनतम दरभन्दा बढी नैरहेको छ ।

सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको कुल तरल सम्पत्तिमा ह्रास आएको छ । सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको
२०७८ पुस मसान्तमा तरल सम्पत्ति २०७८ असारको तुलनामा ३३.२८ प्रतिशतले ह्रास भई रु. १६ अर्ब ७९ करोड पुगेको छ । २०७८ असार मसान्तमा २७.९६ प्रतिशत रहेको तरल सम्पत्ति/कुल निक्षेप अनुपात २०७८ पुस मसान्तमा भने १७.१५ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात घटेको छ । समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०७८ पुस महिनाको अनिवार्य मौज्दात अनुपात ०.५८ प्रतिशत रहेको छ ।
सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने कुल ६५ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये एउटा संस्थाको अनिवार्य नगद मौज्दात अनुपात तोकिएको दर भन्दा न्यून रहेको र अन्य ६४ वटा लघुवित्त वित्तीय संस्थाहरुको अनिवार्य नगद मौज्दात तोकिएको दर भित्रै रहेको छ ।





