
बैंकिङ खबर/ बैंकवित्तमा जस्तै बीमा कम्पनी पनि मर्जरमा गए सुविधा पाउने भएका छन् । बीमा समितिले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गरेर यस्तो व्यवस्था गरेको हो ।
समितिका अनुसार बीमा कम्पनीहरूले संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि २ वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइनेलगायत सुविधा पाउनेछन् ।
बीमा समितिका अनुसार बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यका साथ यस्तो व्यवस्था गरिएको हो ।
समितिले २०७६ सालमै ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ जारी गरेको थियो । समितिले निर्देशिका जारी गरेको २ वर्ष वितिसक्दा पनि हालसम्म एउटा पनि बीमा कम्पनीहरु मर्जर तथा एक्विजिसन जान सकेको छैन ।
बीमा समितिमा कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा कम्पनीहरुलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले केही सुविधा थप गरिएको बताउँछन् । अबको समय प्रविधिमैत्री सेवा भएकाले कम्पनीहरूको संख्या घटाएर उनीहरूको पुँजीगत आधार र सेवाका गुणस्तर बढाउनुपर्ने निर्देशक पौडेल बताउँछन् ।
थप ८ सुविधा थपियो
मर्जर तथा एक्विजिसनमा जाने बीमा कम्पनीहरूले यसअघि पनि १० प्रकारका सुविधा पाउने व्यवस्था थियो । उक्त व्यवस्थामा थप ८ वटा बुँदा थपेर १८ पुर्याइएको छ । थपिएका सुविधामा संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि दुई वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइने, व्यक्तिगत क्रसहोल्डिङको सीमा अवधि वृद्धिलगायत छन् ।
‘बिमक गाभिएकै कारण गाभ्ने बिमकको सञ्चालक समितिमा प्रतिनिधित्व रहन सक्ने अवस्था नभए बिमा समितिको स्वीकृति लिएर थप सञ्चालकको व्यवस्था गर्न सकिने,’ संशोधित निर्देशिकामा भनिएको छ, ‘गाभ्दा वा गाभिएको कारणबाट बिमकको शाखा कार्यालय थपघट तथा मिलान गर्नुपर्ने भएमा बढीमा एक वर्षको समय प्रदान गर्न सकिनेछ ।’
गाभ्ने, गाभिने प्रक्रियामा कुनै बिमकको संस्थापक सेयर अन्य गाभ्ने, गाभिने बिमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नुपर्ने अवस्थामा बिक्री गर्न बन्देज अवधि (लकिङ पिरियड) पाँच वर्ष नपुगे तापनि उपयुक्तता जाँच गरी बिक्रीका लागि स्वीकृति दिन सकिने व्यवस्था गरिएको छ ।
गाभ्ने, गाभिने कार्यपछिको एकीकृत रूपमा बिमांकीय प्रतिवेदन थप्न ६ महिना अतिरिक्त समय प्रदान गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ, ‘कुनै बिमकको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा सञ्चालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था आए सो हटाउन एक वर्षको समय प्रदान गर्न सकिनेछ ।’ सञ्चालकको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवस्था भए तापनि गाभिएको वा प्राप्तिपछि पुनः निर्वाचन नभएसम्मको अवधिका लागि पुरानै सञ्चालक समिति पदमा बहाल रहन पाउने सुविधा पनि निर्देशिकामा छ ।
‘गाभ्ने, गाभिने कार्य समाप्त भएका एकीकृत बिमकका अभिकर्तालाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनमा ६ महिना समय प्रदान गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ, ‘गाभ्ने, गाभिने कार्य सम्पन्न भएपछि कार्यालय स्थापना र यान्त्रिकीकरण गर्दा भएको खर्चलाई एक वर्षसम्म समावेश नगरिने गरी छुट दिन सकिने छ ।’
हाल देशभर १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र २ वटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । विभिन्न बीमा कम्पनीहरूले ३ हजार २ सय ७९ वटा शाखा कार्यालयमार्फत मुलुकभर बीमा सेवा दिँदै आएका छन् ।
हेर्नुहोस् निर्देशिकाको पूर्णपाठ




