
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको नीतिका कारण चाँदीको आयात सुस्ताएको छ । कार्तिकसम्ममा उच्च रहेको चाँदीको आयात राष्ट्र बैंकको कडाइसँगै मंसिरदेखि सुस्ताएको हो । चालु आर्थिक वर्षको कार्तिक महिनासम्ममा कुल १२ अर्ब २२ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको थियो ।
माघसम्ममा चाँदीको आयात ४७ करोड रुपैयाँले मात्रै बढेको छ । गत साउन एक महिनामा २ अर्ब ६२ करोड रुपैयाँको चाँदी आयात भएकोमा भदौसम्ममा ६ अर्ब ६५ करोड,असोजसम्ममा १० अर्ब १७ करोड र कात्तिकसम्ममा १२ अर्ब २२ करोड रुपैयाँको चाँदी आयात भएको थियो ।
भन्सार विभागको तथ्यांक अनुसार गत कात्तिकसम्ममा मासिक औसतमा ३ अर्ब ५ करोड रुपैयाँको चाँदी आयात हुँदै आएको थियो ।
मंसिरमा भने २९ करोड रुपैयाँको मात्रै चाँदी नेपाल भित्रिएको थियो भने भने पुसमा करिब ६ करोड रुपैयाँ र माघमा १२ करोड रुपैयाँको चाँदी आयात भएको छ ।
चाँदीको आयात उच्च भएपछि नेपाल राष्ट्र बैंकले चाँदी आयातमा शतप्रतिशत मार्जिन साथै चाँदी आयात गर्दा प्रति पटक ३५ हजार डलर वा सो बराबरको अन्य परिवर्त्य मुद्रासम्मको सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यसले गर्दा चाँदीको आयात रोकिएको हो ।
चाँदीको आयातमा कमी आए पनि सुनको आयात भने माघ महिनामा उच्च देखिएको छ । माघ एक महिनामा मात्रै ३ अर्ब बढीको सुन आयात भएको छ । माघसम्ममा गत वर्षको तुलनामा सुनको आयात झण्डै दोब्बरले बढेको विभागको तथ्यांकमा उल्लेख छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा २५ अर्ब २१ करोड रुपैयाँको सुन आयात भएको छ । गत वर्षको यसै अवधिमा १४ अर्ब ९५ करोड रुपैयाँको मात्रै सुन आयात भएको थियो ।
गत पुस अन्तिमसम्ममा २२ अर्ब ३ करोड रुपैयाँको सुन आयात भएको भएको थियो । माघ महिनामा मात्रै ३ अर्ब १९ करोड रुपैयाँको सुन आयात भएको छ ।