
बैंकिङ खबर/ ग्रीनलाइनका सञ्चालक अमित अग्रवालले बैंकको ऋण किस्ता र अन्य सापटी रकम भुक्तानी गर्न प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले विभिन्न बैंक तथा अन्य गरी तीन अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भनेर हल्ला गरिएपनि त्यो गलत भएको बताए । उनका अनुसार ८० करोड रुपैयाँ मात्रै तिर्न बाँकी रहेको छ । अग्रवालले पत्रकार सम्मेलनमा आफुले मिटरब्याजमा २४ प्रतिशत तिरेर ऋण लिएको र त्यही ऋणका कारण उठ्न नसकेको दाबी गरे ।
अग्रवालले आफुलाई ऋण लिनेहरुले निकै समस्यामा पारेको बताए । ऋण लिनेहरुले समस्यामा पारेको कारण केही समय सबैको सम्पर्क बाहिर रहनु परेको बताए । पत्रकारसम्मेलनमा उनले आफु देश छाडेर अन्यत्र नगएको र उपचारको शिलशिलामा केही समय देशबारिह रहेको बताए ।
आफ्ना प्रतिस्पर्धीहरुले आफ्नो व्यापार व्यवसायलाई समाप्त गर्नको लागि विभिन्न नकारात्मक प्रचार बाजी गरेको बताए । उनले आफै बैंकको ऋण किस्ता र अन्य साहुहूको सापटी रकम भुक्तानी गर्न प्रतिबद्ध रहेको बताए । उनले बैंक र साहुलाई संयमित बन्न आग्रह गरेका छन् । अग्रवालले आफ्नो ज्यानको सुरक्षा र सहज तरिकाले व्यापार व्यवसाय गर्न सकेको खण्डमा मर्नु वा बाँच्नु जे गर्नुपरेपछि नेपालमा नै गर्न चाहेको जानकारी गराए ।
अग्रवालले आफ्नो जिउज्यानको सुरक्षा खतरामा रहेकाले प्रशासनसँग सुरक्षा मागिएको बताए । ‘व्यवसायिक कारोबारमा संलग्न विभिन्न व्यक्तिहरूले कानुनविपरीत मलगायत मेरो परिवारका सदस्यलाई मानसिक तनाव दिने, भौतिक आक्रमण गर्ने, अनाधिकृत तवरले मेरो सम्पत्ति कब्जा गर्ने धम्की दिने साथै दुःख हैरानी दिन विभिन्न अनावश्यक मुद्दामामिला गरेका छन्,’ अग्रवालले भने,‘मलयागत मेरो घरपरिवारका सदस्यको जिउधनमा गम्भीर खतरा उत्पन्न हुने अवस्था भएकाले नेपालको संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, व्यापार व्यावसाय गर्न पाउने हकको सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेको छु ।’