२०७३ भाद्र २३ गते

सेयर हाल्नुअघि पढ्नुहोस् ‘रविन्द्र भट्राईका सात टिप्सहरु’

rabindra bhattaraiमार्केट जति बढ्दै गयो, त्यति नै नयाँ–नयाँ लगानीकर्ताहरु भित्रिदै जान्छन् । किनभने बजार बढेपछि यसको प्रचार–प्रसार बढी हुन्छ । उदाहरणका लागि, बजार बढ्दै गएपछि यससम्बन्धी खबरले मिडियामा प्राथमिकता पाउँछन् । त्यही प्राथमिकतामा परेका खबरहरुका आधारमा नै नयाँ लगानीकर्ताहरु सेयर बजारतर्फ आकर्षित हुन्छन् । त्यस्तै बजार बढ्दै जाँदा मिडियासहित यसबारे चिया पसल, बाटो–घाटोमा समेत चर्चा हुन्छ । बढ्दो बजारमा छोटो समयमा हुने फाइदाको आशमा पनि लगानीकर्ताहरु सेयर बजारतर्फ प्रेरित भईरहेका छन् । सेयर बजार सबैभन्दा छिटो छिर्न सक्ने र निस्कन सक्ने व्यापार पनि भएकाले यतापछि मानिसहरुको आकर्षण बढेको हो । 

त्यस्तै, मजबुद बन्दै गएर बैंक तथा वित्तीय संस्थाहरु र गत आर्थिक वर्षमा तीनीहरुले उल्लेख्य रुपमा बठाएको नाफाका कारण पनि सेयर बजारले नयाँनयाँ लगानीकर्तालाई तान्न सकेको छ भने पूरा लगानीकर्तालाई टिकाइराख्न सकेको छ । यसबाहेक, निकै लामो समयको प्रयासपछि ब्रोकरको कमिशन घट्यो । बजारको दायरा बढाउनका लागि त्यसलाई एउटा स्वागतयोग्य कुरा मान्न सकिन्छ । यसले पनि नेप्से इन्केक्सलाई बढाउन मद्दत गरेको छ । यसको बाँकी असर देख्नलाई अझै केही समय कुर्नुपर्ने हुन्छ । प्राविधक रुपमा पनि मार्केट अहिले अलि सहज भएको छ । डिम्याट कार्यान्वयदेखि लिएर मार्केट डेक्सका कुराहरु भए र हालैको कुरा गर्ने हो भने ब्रोकरको कमिशन घटेको छ । भलै यसको असर पूर्ण रुपमा देखिने बेला भएको छैन, तर पनि नयाँ लगानीकर्ताहरुलाई यसले थोरबहूत आकर्षित गरेको छ । 

मार्केटले तपाईलाई १२ महिनानै अवसर दिइरहेको हुन्छ । सेयर मार्केट भनेको दुई महिनापछि बन्द हुने वा निश्चित समयको व्यापार हैन । यहाँ सँधैभरि कारोबार भईरहन्छ । बजारमा कहिले कम्पनी सस्तो भईरहेका हुन्छन्, कहिले महंगो भईरहेका हुन्छन् । त्यहाँ कुन कम्पनी कस्तो भनेर चिन्नुपर्छ । तर पुरानासंग अलि बढी अनुभव हुन्छ । उनीहरुले कहाँ कति जोखिम भन्ने कुरा विश्लेषण गर्न सक्छन् । त्यसैले स्वभाविक रुपमा नयाँले अलि बढी जोखिम मोल्नैपर्छ । त्यसैले, यदि सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने यी कुराहरुमा अवश्य ध्यान पुर्याउनुहोस् :

मार्केट बढ्दैमा बजार विकसित भयो भन्ने भ्रम नपाल्नुस् 
आज मार्केट बढिरहेको छ, यो खुसीको कुरा हो । तर, मार्केट बढ्दैमा हाम्रो बजार विकसित भएको भन्न मिल्दैन । यो मार्केट त ०६५ सालमा पनि बढेको थियो । त्यसपछि ०६८ सालमा घट्यो, फेरी अहिले बढेको छ । यसको मतलव मार्केट आफ्नो ‘साइकल’अनुसार चलिराखेको हुन्छ । तर बजारको गतिभन्दा पनि यसको विकासलाई हामीले अझै अगाडी लिएर जानुपर्छ । अहिले नेप्सेको अटेरिपन र अर्गेल्याइँ देखिएको छ । किनभने धितोपत्र बोर्डले दिएका कतिपय निर्देशनहरु नेप्सेबाट पालना भएका छैनन् । जसले गर्दा हाम्रो बजारको विकास पछाडी धकेलिएको छ ।

उतारचढावबाट नआत्तिनुहोस्
सेयर बजारमा लगानी सुरक्षाको ग्यारेन्टी हुँदैन । किनकि, सेयर बजार भनेकै ‘रिस्क’को व्यापार हो । यसमा लगानी सुरक्षाको ग्यारेन्टी हुँदैन । यहाँ हरेक समय, हरेक व्यक्तिलाई जोखिम छ । यहाँ साना तथा नयाँ लगानीकर्तालाई मात्रै हैन ठूला लगानीकर्तालाई पनि जोखिम छ । बजारमा आएको उतारचढावबाट आत्तिनुहुँदैन । पोखरीमा छिरिसकेपछि पानी तातो–चिसोको महशुस हुन्छ नै । त्यसबाट हतास भएर ‘ब्याक’ हुन खोज्नुहुँदैन । अनुभवकै लागि पनि थोरबहुत कारोबार गर्दै गर्नुपर्छ ।

हल्लाको पछाडि लागेर मार्केटमा नछिर्नुहोस्
दोश्रो बजारमा अहिले नयाँ लगानीकर्ताहरु छिरिरहनुभएको छ । मैले आफुले तालीम दिने क्रममा पनि कतिपय नयाँ लगानीकर्ताहरुलाई भेटिरहेको छु । तर उहाँहरु पैसा लगाईसकेपछि आउनुभएको पाउँछु । यसको मतलव उहाँहरु हल्लाकै पछि लागेर मार्केटमा छिर्नुभएको हो । यसरी बाहिरी हल्लाको पछि लागेर मार्केटमा छिर्नु भनेको ठूलो रिस्क लिनु हो ।

मार्केटको अवस्था राम्ररी बुझ्नुहोस्
सबैभन्दा ठूलो कुरा त शिक्षा नै हो । बजारसम्बन्धी केही दिन अध्ययन गर्नुपर्छ । आफै मार्केटमा जानुपर्छ, त्यहाँको अवस्था बुझ्नुपर्छ । केही पनि नबुझिकन मार्केटमा गएर लगानी गर्ने एउटा ‘अनभिज्ञताको रिस्क’ले लगानी डुब्न सक्छ । त्यसैले मार्केटमा त्यहाँको अवस्थाबारे बुझेर मात्रै लगानी गर्नुपर्छ । बजारमा अझै अरु दुई वटा जोखिम हुन्छन् । कम्पनी डुब्दाको जोखिम र मार्केटमा गिरावट आउँदाको जोखिम । यी जोखिमहरुबाट बच्नका लागि अध्ययनको एकदमै जरुरी हुन्छ । मार्केट के हो, कम्पनी के हो ? कसरी कम्पनीले फाइदा दिन्छ भन्ने कुरा जान्नुपर्यो । त्यसपछि मार्केटमा प्रवेश गरेर सेयर किन्नुपर्यो । 

आफ्नो क्षमताअनुसारको सेयर किन्नुहोस् 
सेयर किन्दा पनि आफ्नो क्षमताअनुसार किन्नुपर्छ । अरुले कति लगानी गर्यो र कति कमायो भन्ने पाटोबाट लगानी गर्दा जोखिम उच्च हुन सक्छ ।

कस्तो एक्जिटमा के गर्ने भन्ने कुरा बुझ्नुहोस्
अर्को ‘एक्जिट’ को कुरा छ । बजारबाट निस्कँदा कि फाइदा लिएर निश्कने वा घाटा सहेर अथवा साँवामात्रै भएपनि लिएर निस्कने । तीन किसिमका एक्जिट हुन्छन् । त्यसैले कुन किसिमको एक्जिट आइपरेको अवस्थामा के गर्ने भन्ने कुरा बुझ्नुपर्छ ।

कम्पनीको वित्तीय अवस्थाबारे जानकार रहनुहोस्
लगानीकर्ताले ध्यान पुर्याउनै पर्ने अर्को महत्वपूर्ण कुरा भनेको आफुले लगानी गर्दै गरेको कम्पनीको वित्तीय अवस्थाबारे राम्रोसंग बुझ्नुपर्छ । यदी आफुले लगानी गर्न लागेको कम्पनीबारे नबुझि हल्लाकै भरमा लगानी गर्नतिर लागियोे भने त्यहाँ ठूलो जोखिम हुन सक्छ । त्यसैले कम्पनी छानेर लगानी गर्ने हो भने अहिले मार्केटमा धेरै सस्ता कम्पनीहरु पनि छन् । कति कम्पनी यस्ता पनि छन्, जसको वित्तीय अवस्थाले त्यो मूल्यलाई थेग्न सक्दैसक्दैन । भोलि ती कम्पनीहरु मूल्यका हिसाबले छिटै धरासायी हुन सक्छन् ।