
बैंकिङ खबर / हिमालयन बैंक आर्थिक वर्ष २०८२/८३ मा खुद नाफामा फर्किएको देखिए पनि बैंकको वित्तीय स्वास्थ्यमा रहेको दबाब भने अझै हटेको छैन।
बैंकको नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढे पनि उच्च निष्क्रिय कर्जा र ठूलो सञ्चित नोक्सानीले बैंकका लागि चुनौती कायमै रहेको वित्तीय विवरणले देखाएको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्ममा बैंकले १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ मात्र थियो। यस हिसाबले बैंकको नाफामा ठूलो सुधार देखिएको छ।
तर, नाफामा आएको सुधारलाई मात्रै आधार बनाएर बैंकको वित्तीय अवस्था बलियो भएको निष्कर्ष निकाल्न सकिने अवस्था छैन। बैंकको सबैभन्दा ठूलो चुनौती अझै पनि खराब कर्जा रहेको छ।
७.९६ प्रतिशत खराब कर्जा
हिमालयन बैंकको निष्क्रिय कर्जा अनुपात ७.९६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ७.९७ प्रतिशत थियो। अर्थात् खराब कर्जामा सामान्य सुधार देखिए पनि यो स्तर अझै उच्च छ। बैंकिङ क्षेत्रमा खराब कर्जाको अनुपात सामान्य स्तरमा राख्नु बैंकको वित्तीय स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ। तर हिमालयन बैंकको निष्क्रिय कर्जा करिब ८ प्रतिशतको आसपास रहनुले बैंकले कर्जा असुलीमा ठूलो चुनौती सामना गरिरहेको संकेत गर्छ। खराब कर्जा उच्च हुँदा बैंकले त्यसवापत सम्भावित जोखिम व्यवस्थापन गर्न ठूलो रकम छुट्याउनुपर्छ। हिमालयन बैंकले पनि समीक्षा अवधिमा कर्जा नोक्सानी व्यवस्थापनका लागि २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ।
यसले बैंकको वास्तविक आम्दानीमा दबाब सिर्जना गरेको छ। कर्जाबाट ब्याज आम्दानी भए पनि ठूलो हिस्सा सम्भावित जोखिम व्यवस्थापनमा छुट्याउनुपर्ने भएपछि त्यसको प्रत्यक्ष प्रभाव नाफामा पर्छ।
नाफा बढ्यो, तर सञ्चित नोक्सानी घटेन
हिमालयन बैंकको अर्को महत्वपूर्ण पक्ष सञ्चित नोक्सानी हो। बैंकको रिटेन्ड लस ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो सञ्चित नोक्सानी ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ थियो।
यसले बैंकको विगतको वित्तीय क्षतिको भार अझै ठूलो रहेको देखाउँछ। चालु आर्थिक वर्षमा बैंक नाफामा फर्किए पनि विगतमा जम्मा भएको सञ्चित नोक्सानीका कारण बैंकको वित्तीय सुधारको यात्रा अझै पूरा भएको छैन।
अर्थात्, अहिलेको १ अर्ब ४८ करोड रुपैयाँको नाफाले मात्रै बैंकमाथि रहेको करिब १० अर्ब रुपैयाँ बराबरको सञ्चित नोक्सानीको भार हटाउन सक्ने अवस्था छैन। आगामी वर्षहरूमा निरन्तर र गुणस्तरीय नाफा कायम गर्नुपर्ने दबाब बैंकमाथि रहनेछ। खराब कर्जा घटाउन नसके नाफाको सुधार दिगो नहुन सक्छ l
हिमालयन बैंकका लागि अबको मुख्य चुनौती नाफा बढाउनु मात्रै होइन, खराब कर्जा घटाउनु हो। उच्च निष्क्रिय कर्जालाई नियन्त्रण गर्न नसके कर्जा नोक्सानी व्यवस्थापनमा ठूलो रकम निरन्तर छुट्याउनुपर्ने हुन्छ।
यसले बैंकको वितरणयोग्य नाफा र लाभांश क्षमतामा समेत दबाब पार्न सक्छ। त्यसैले आगामी दिनमा कर्जा असुली, समस्याग्रस्त कर्जाको व्यवस्थापन र नयाँ कर्जा प्रवाहको गुणस्तर सुधार बैंकका लागि प्राथमिक विषय बन्ने देखिन्छ।
अघिल्लो वर्षको तुलनामा खराब कर्जा ७.९७ प्रतिशतबाट ७.९६ प्रतिशतमा झर्नु सकारात्मक संकेत भए पनि सुधार निकै न्यून छ। करिब ८ प्रतिशतको निष्क्रिय कर्जा अनुपातलाई उल्लेख्य रूपमा घटाउन नसकिएसम्म बैंकको सम्पत्तिको गुणस्तरमा रहेको जोखिम पूर्ण रूपमा हटेको मान्न सकिँदैन।
नाफामा सुधार, तर जोखिमको भार कायमै
समग्रमा हेर्दा हिमालयन बैंक आर्थिक वर्ष २०८२/८३ मा नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ। तर बैंकको वित्तीय विवरणको अर्को पाटो हेर्दा उच्च खराब कर्जा, ठूलो कर्जा नोक्सानी व्यवस्था र बढ्दो सञ्चित नोक्सानीले बैंक अझै सुधारको चरणमै रहेको देखाउँछ।
त्यसैले यस वर्षको नाफालाई बैंकको पूर्ण वित्तीय पुनरुत्थानभन्दा पनि सुधारको सुरुवातका रूपमा हेर्नुपर्ने देखिन्छ। अब बैंकले नाफाको वृद्धिसँगै खराब कर्जा घटाउन र विगतको सञ्चित नोक्सानी कम गर्न सके मात्रै वित्तीय सुधारलाई दिगो बनाउन सक्नेछ।


