Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

अब बैंक धाउनु नपर्ने : ब्रोकरबाटै लिन पाइनेछ सेयर कर्जा

२०८३ श्रावण २८ गते

बैंकिङ खबर / सेयर लगानीकर्ताले अब बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिनुको विकल्पमा आफूले कारोबार गर्ने ब्रोकर कम्पनीबाटै मार्जिन कारोबार सुविधा लिन सक्ने भएका छन्। नेपाल धितोपत्र बोर्डको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ अनुसार यस्तो सुविधा बढीमा एक वर्षका लागि लिन सकिनेछ र आवश्यक प्रक्रिया पूरा गरी नवीकरण गर्न सकिनेछ।

तर मार्जिन कारोबार सबै सूचीकृत कम्पनीको सेयरमा उपलब्ध हुने छैन। हाल २७९ सूचीकृत कम्पनीमध्ये १२३ कम्पनी मार्जिन कारोबारका लागि योग्य छन्। योग्य कम्पनीमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, बीमा, जलविद्युतलगायत विभिन्न क्षेत्रका कम्पनी छन्। मार्जिन सुविधा लिन लगानीकर्ताले सम्बन्धित ब्रोकरमा आवेदन दिनुका साथै केवाईसी अद्यावधिक गर्नुपर्नेछ। कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको स्वघोषणा, आवश्यक कागजात र प्रतिबद्धता पेश गरेपछि तोकिएको डीपीमा छुट्टै मार्जिन खाता खोल्नुपर्छ। त्यसपछि ब्रोकर र लगानीकर्ताबीच सम्झौता भएपछि कारोबार प्रक्रिया अघि बढ्छ।

मार्जिन कारोबार सुरु गर्न लगानीकर्ताले सम्बन्धित सेयरको पछिल्लो १८० दिनको औसत अन्तिम बजार मूल्य र हालको बजार मूल्यमा जुन कम हुन्छ, त्यसको ५० प्रतिशत रकम सुरु मार्जिनका रूपमा जम्मा गर्नुपर्नेछ। बाँकी रकम ब्रोकरले मार्जिन ऋणका रूपमा उपलब्ध गराउन सक्छ। यसरी आवश्यक मार्जिन रकम जम्मा गरेपछि लगानीकर्ताले ब्रोकरमार्फत योग्य कम्पनीको सेयर खरिद गर्न सक्छन्। ऋणमा ब्याजदर तथा ब्रोकरको सेवा शुल्क लागू हुन सक्छ। सेवा शुल्क सामान्यतः ०.१ देखि ०.५ प्रतिशतसम्म हुन सक्ने व्यवस्था छ।