
बैंकिङ खबर / जीवन विकास लघुवित्त वित्तीय संस्थाले रु. २ लाख राशिको उद्यमशीलता विकास पुरस्कार प्राप्त गरेको छ। स्वावलम्बन विकास केन्द्रले उद्यमशीलता विकासमा उत्कृष्ट योगदान पुर्याएको भन्दै संस्थालाई आर्थिक वर्ष २०८१/८२ का लागि उक्त पुरस्कार प्रदान गरेको हो ।
केन्द्रको ३५औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री र केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठलगायतले जीवन विकासका सञ्चालक समिति सदस्य श्यामचन्द्र खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
जीवन विकास लघुवित्तले करिब तीन दशकदेखि ग्रामीण तथा विपन्न परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले सदस्यलाई लघुउद्यममा जोड्न सीपमूलक तालिम, उत्पादनको बजारीकरणमा सहजीकरण तथा महिला सदस्यलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा संस्थाले खेलेको भूमिकालाई मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको स्वावलम्बन विकास केन्द्रले जनाएको छ ।
हाल कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा सेवा दिइरहेको जीवन विकासले २० हजारभन्दा बढी महिला सदस्यलाई उद्यमी बनाएको जनाएको छ। संस्थाले उद्यमशीलता विकासका लागि छुट्टै विभाग, इन्क्युबेसन सेन्टर, सीप विकास तालिम तथा युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
त्यस्तै, संस्थाले दिगो विकास र पर्यावरण संरक्षणलाई जोड दिँदै ‘इको भिलेज’ अभियान सञ्चालन गर्नुका साथै उद्यमी सदस्य तथा उनीहरूका श्रीमान्–श्रीमतीका लागि निःशुल्क दुर्घटना बीमासमेत गर्दै आएको जनाएको छ ।
कार्यक्रममा स्वावलम्बन विकास केन्द्रले तीन जना महिलालाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार समेत प्रदान गरेको थियो । पुरस्कार प्राप्त गर्नेमा नवलपरासीकी लिलाकुमारी थारु, झापाकी शर्मिला थेबे र बर्दियाकी सुनिता थारु रहेका छन् ।


