
बैंकिङ खबर/ बनेपा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेश मातहतका ९ वटा शाखा कार्यालयका कर्मचारीहरुलाई कलैयास्थित होटल करणराज प्यालेसमा व्यवसाय प्रवर्द्धन तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ। संस्थाको मधेश प्रदेश प्रमुख राम किशोर चौधरीको संयोजकत्वमा कार्यक्रम भएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी र कर्जा विभाग प्रमुख राजेश श्रेष्ठले सहभागिहरुलाई सहजिकरण गरेका हुन् । तालिममा कर्मचारीहरुलाई व्यवसाय प्रवर्द्धनका सिकाईहरु, लघुवित्तको मूल मर्म, कर्जा विश्लेषण र जोखिम व्यवस्थापन, गुणस्तरीय धितो कर्जा लगानी प्रक्रिया लगायतका सिकाईहरु सिकाइएको थियो।
आर्थिक वर्षको शुरुबाट नै कर्मचारीहरुको क्षमता र दक्षता अभिबृद्धिका लागि विभिन्न तालिमहरुको आयोजना गर्दै आएको संस्थाले राष्ट्र बैंकले दिएको निर्देशन अनुरुप प्रादेशिक संरचनामा समेत कार्य थालनी गरिसकेको छ । संस्थाले त्रैमासिक रिपोर्टको समीक्षा गर्दै कर्मचारीहरुसँग साक्षात्कारसहित समस्याहरुको सुनवाईका लागि यस्तो कार्यक्रमहरु गरिएको र निरन्तर वेबिनार मार्फत पनि कार्यक्रमहरु भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले बताए।
संस्थाले दोश्रो त्रैमाससम्ममा ८ अर्ब ८६ करोड लगानी गरेको छ भने सदस्यहरुबाट २ अर्ब ६२ करोड बचत संकलन गरेको छ । दोश्रो त्रैमासमा संस्थाले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार १२ करोड १६ लाख रुपैंयाँ नाफा गरेको छ भने प्रतिशेयर आम्दानी ५५.९१ रुपैंयाँ रहेको छ।



