
बैंकिङ खबर/ हाल आयातमा गरिएको कडाईलाई निरन्तरता दिँदै अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने लगायतका विषयमा अर्थविद्हरूले सुझाव दिएका छन् ।
आइतबार मन्त्रालयमा भएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु सम्मिलित छलफलमा अर्थविद्हरूले अर्थमन्त्री जनार्दन शर्मालाई विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन, कृषि उत्पादकत्व बढाउने तथा संरचनागत सुधार गर्ने लगायतका सुझाव समेत दिए ।
छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धरासायी भइनसकेको बताउँदै थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाएका छन् ।
मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा.विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै भारतका लागि नेपालका पूर्व राजदूत डा। दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा. रामकुमार फुयाल लगायतको पनि उपस्थिति थियो ।