
बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय स्वास्थ्यचौकी (दोधारा चाँदनी) ले आफ्नो संस्थामा आबद्ध सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ४ अन्तर्गत पिपलचौतारा महिला समूहकी ग्राहक सदस्य धनकला सुनारको निधन प्रति शोक ब्यक्त गर्दै नगद रु. १ लाख ४ हजार प्रदान गरिएको हो। एक कार्यक्रमका बीच दोधारा चाँदनी नगरपालिका वडा नं.४ का वडाध्यक्ष भक्तबहादुर सुनार मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो।
कार्यक्रममा वडाध्यक्ष सुनारले बीमाको महत्व र यसबाट हुने फाइदाबारे जानकारी दिएका थिए। त्यसैगरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समुदायमा बित्तिय क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरे ।
शाखा प्रबन्धक जीतनारायण चौधरीले आफ्ना ग्राहक सदस्य रहेका दलित, मुक्त कमैया, वादी, हलिया, द्वन्द्वपीडित, एकल महिला तथा जेष्ठ नागरिक सदस्यलाई कर्जाको ब्याजदरमा थप १ प्रतिशत सहुलियत रहेको बताए। व्यवसायिक रुपमा काम गर्न खोज्ने ग्राहक सदस्यलाई लघुउद्यम कर्जासमेत उपलब्ध गराउँदै आएको जानकारी दिए।
प्रबन्धक चौधरीले संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्जा बीमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढीपीडित सदस्यलाई आर्थिक राहत सहयोग र ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पीडित हुँदा आर्थिक राहत सहयोग लगायतका सुबिधा दिँदैं आएको बताए । समूह सदस्य तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण लेखापाल दुखीराम बुढाथोकी र दिब्येश्वर अवस्थीले गरेका थिए।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तीन दशकदेखि निरन्तर अगाडि बढिरहेको छ। यस शाखाले कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा करिब दुई हजार पाँच सय सदस्यलाई कर्जा बचत सेवा प्रदान गर्दै आएको छ। हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्यक्षेत्र बनाई १८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ।




