Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तमा पनि तरलता अभावकाे प्रभाव छः जगत पोखरेल(अध्यक्ष, लघुवित्त संघ नेपाल)

२०७८ माघ १६ गते

पछिल्लो समय बैंकहरुमा देखिएको तरलताको असरका कारण यसको प्रभाव लघुवित्त क्षेत्रमा पनि परेको छ । बढ्दो कोरोना महामारी र तरलता अभावका कारण लघुवित्तहरु बढी प्रभावित हुन पुगेको छ । यसैबीच हामीले लघुवित्तमा तरलताको अभावका साथै कोरोनाका कारण पारेको प्रभावका विषयमा हामीले लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखरेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनै पोखरेलसँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंशः–

कोरोनाको तेस्रो लहरले लघुवित्त क्षेत्रमा कस्तो प्रभाव परेको छ ?

पहिलो लहरको कोरोनामा भन्दा अहिले निकै समस्या छन् । ९५ प्रतिशतभन्दा धेरैलाई यसले समस्या पारेको छ । पहिले तरलताको अभाव थिएन, अहिले यसको समस्या छ । कर्जा नपाउने समस्या पनि उस्तै छ, पाइहाले पनि ब्याजदर चर्को छ। विविध समस्याका बावजुद काम गर्नुपर्ने अवस्था छ ।

अर्कातिर सरकारले २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने भनेको छ । यसले पनि समस्या थपेको छ । यस्तै खोपकार्ड अनिवार्य भनेको छ, यसले पनि समस्या नै छ । किनकी सबैले खोप लगाउन पाइसकेको अवस्था छैन । तैपनि चुनौतीलाई अवसरमा बदल्नु पर्ने अवस्था पनि छ।

सेवाग्राहीहरुमा पनि निकै ठूलो रिक्स छ । लगानीकर्ताहरुमा पनि तार्गेट पूरा गर्न नसक्ने अवस्था छ । लगानी बढाउन सकिने सम्भावना पनि छैन । तैपनि देशका ५४ लाख महिलाहरुको हितमा लघुवित्तहरु सक्रिय हुनु भनेको यो उपलब्धि नै हो । यसलाई सकारात्मक रुपमा लिनु पर्ने हुन्छ। यसलाई व्यवस्थित बनाउन भने चुनौती नै छ ।

कोरोनाले लघुवित्तमा कार्यरत कर्मचारीमा चाहिँ कस्तो असर पारेको छ नि ?

कोरोनाले सबैलाई समस्या छ । यसले धनि गरिब वा सानो ठूलो केही चिन्दैन। ऋणी वा लगानीकर्ता केही चिन्दैन । कर्मचारी काममा त जसरी नि लाग्छन्, काम नगरि पनि भएन नि ।

लघुवित्तमा मात्र होइन, विश्वमै समस्या ल्याएको कोरोनाले हामीलाई समस्या नहुने भन्ने त हुँदै भएन नि । मलाई लाग्छ अब कोरोना सामान्य रुघाखोकी जस्तै भइसक्यो । एकातिर कोरोना, अर्कातिर दैनिक काम गर्नु पर्ने अवस्था पनि छ । यसलाई सँगसँगै लैजानु पर्छ।

लघुवित्तहरु मर्जरको अवस्था के छ ? कसरी अगाडि बढेको छ?

सबैभन्दा ठूलो कुरा क्रस होल्डिङको छ । हामी राष्ट्र बैंकसँग सल्लाह गर्न सक्छौं तर नियम नमान्न सक्दैनौं । नमिलेका कुरा जानकारी गराउन सक्छौं । नेपालमा माइक्रोफाइनान्सको आवश्यकता छ । तर संख्यात्मक रुपमा धेरै छन् । यिनीहरुलाई घटाउने राष्ट्र बैंकको नीति सकारात्मक छ । यो हुनु पर्छ । कोरोनाले यसमा धेरै समस्याहरु ल्याएको छ । मर्जरमा हामी सहयोग गर्न तयार छौं, पहिलेदेखि नै गरेको पनि हो, पछि पनि गरिन्छ ।

लघुवित्त मर्जरका सकारात्मक पक्षहरु कस्ता छन् ?

मर्जरका सकारात्मक कुराहरु गर्नु पर्दा अहिले एउटाले दुई वा तीन वटासम्म लिन पाइने भन्ने छ । यो राम्रै कुरा हो ।पहिले एक सयभन्दा बढी थिए भने अहिले ६८ वटासम्म आइसकेका छन् । अरु पनि मर्जरको प्रक्रियामा छन् । यसलाई राष्ट्र बैंकले अझै अनिवार्य बनाउनुपर्छ । जे भए पनि मर्जर हुनु सकारात्मक हो । यसलाई व्यवस्थित बनाउनु पर्छ । कि गर्नै हुन्न भन्न सक्नु पर्यो नत्र गरिसकेपछि व्यवस्थित त बनाउनै पर्यो नि ।

बैंकहरुमा तरलताको अभाव अलि सहज हुँदै गएको अवस्था छ । लघुवित्तहरुमा चाहिँ यसको समस्या कस्तो छ ?

यो विषयमा चाहिँ सरकारले पनि बोलेको छ, राष्ट्र बैंकले पनि बोलेको छ । पहिलो कोरोनाको समयमा त्यति समस्या थिएन । पैसा थियो तर लगानी थिएन । तर अहिले निकै नै समस्या आएको हो । अब विस्तारै सहज हुन गएको छ । तर सहजको अवस्था लघुवित्तहरुमा आइसकेको छैन । आशा गरौं यो समस्याबाट हामी छिटै मुक्त हुनेछौं । पहिले जस्तै बन्नेछौं ।

लघुवित्तहरुले विदेशी संस्थाबाट ऋण ल्याउने भन्ने कुरा कहाँ पुगेको छ ?

यसमा सरकार ग्यारेन्टी बस्नु पर्छ । पहिले ठूला र पुराना लघुवित्तहरुले सरल व्याजमा ऋणलिन्थें तर अहिले सरकारले एकद्वार निती ल्याएको छ । पहिले जस्तो सजिलो छैन । व्याजदर महंगो छ, सरकारले ग्यारेन्टी लिएपछि मात्र सम्भव छ । हामी यसमा सरकारसँग छलफल गदैर्छौं ।

अन्त्यमा केही भन्नु छ की ?

कोरोनाको समयमा पनि लघुवित्तका समस्याहरुका बारेमा चासो राख्नु भयो । खुशी लाग्यो, धन्यवाद । हामीले सरकारका नीति नियमलाई मान्नुपर्छ । यस अवस्थामा सबै कर्मचारीको मनोबल उच्च बनाएर काम गर्नुपर्छ । समस्यालाई अवसरको रुपमा लिएर अघि बढ्नु पर्छ जस्तो लाग्छ । काम गर्दै जाँदा समस्याहरु आउँछन् । समाधान पनि लिएर आउँछन् । आत्तिनु हुँदैन भन्न चाहन्छु ।