
बैंकिङ खबर/ बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले आउँदो आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी निर्देशिका जारी गरेको हो ।
समितिले बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमकहरुमा आईपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्यांकन गर्न आवश्यक रहेकोले बीमा ऐन २०४९ को दफा ८ (घ २) अनुसार निर्देशिका जारी गरेको जनाएको छ ।
निर्देशिका अनुसार बीमा कम्पनीहरुले जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाई वार्षिक प्रतिवेदनमा समावेश गनुपर्दछ ।
प्रतिवेदन पेश गर्न नसकेमा बीमकले सोसम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गरेको छ वा छैन वा जलवायु जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाको कारण स्पष्ट खुलाउनुपर्नेछ ।
बीमकले जलवायु जोखिमको प्रभाव सम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत प्रकाशित गरी त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना ग्राहकवर्गलाई सुझाव दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिका लागू भएको तीन वर्ष पुराभएपछि बीमा कम्पनीहरुले नयाँ बीमा योजना तयार गर्दा सोको बीमाशुल्क निर्धारणमा जलवायु जोखिमलाई कसरी समावेश गराएको छ । त्यसको व्यवस्था खुलाउनु पर्ने निर्देशिकामा उल्लेख छ ।




