Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्छः अर्थमन्त्री

२०७८ माघ १० गते


बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने बताएका छन् । भर्चुअल माध्यमबाट सोमबार भएको राष्ट्रिय वाणिज्य बैंकको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाए।

राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो’, उनले भने, ‘यो रणानीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ।’

शर्माले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरुलाई पनि शिक्षा दिन सक्नुपर्ने बताए। पछिल्लो समय प्रविधिको युग रहेको उल्लेख गर्दै मन्त्री शर्माले बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) प्रशंसनीय रहेको बताए। यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा उनले विश्वास व्यक्त गरे। यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँच वृद्धि हुने पनि उनको भनाइ थियो।

यस्तै शर्माले कृषि क्षेत्रमा दुई गुणाले लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरे । उनले भने, ‘यो ५७ औँ वार्षिकोत्सव समारोहसँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरुले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ’, उनले भने, ‘यसलाई सकेसम्म दुई गुणा वृद्धि गर्नुहुनेछ। जसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्वपूर्ण योगदान पुग्नेछ।’

बैंकको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले यूएसएसडी सेवाको उद्घाटन तथा ‘उपहार’ पुस्तकको लोकार्पणसमेत गरेका थिए। राष्ट्रिय वाणिज्य बैंक २०२२ साल माघ १० गते स्थापना भएको हो। हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ।

Ad