
बैंकिङ खबर।
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरणका लागि १४ पुसमा बुक क्लोज गर्दैछ। यस अनुसार नेप्सेमा मंगलबारसम्म कायम रहने सेयरधनीले कम्पनीकाे साधारणसभामा भाग लिन सक्नेछन्।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई १६ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित दुई दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २२ पुसमा साधारणसभा बोलाएको छ। सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा नियमावली संशोधन गर्ने, आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छन्।



