November 23rd, 2021

आर्थिक सम्भानानाको आधारशिला प्रदेश नं. २ : यस्ता छन् सम्भाव्यताहरु

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रदेश २ को आर्थिक अध्ययन रिपोर्ट सार्बजनिक गरेको छ । जहाँ आर्थिक सम्भाव्यता औल्याइएको छ । यस प्रदेश समतल भू–भागमा रहेकाले विभिन्न किसिमका आर्थिक क्रियाकलाप सञ्चालन गर्न सहज भएकोले यस्तो आथिक क्रियाकलापहरु वृद्धि गर्न सके समृद्ध प्रदेशको रुपमा विकसित हुन सक्ने सम्भावना रहेको छ ।

कृषियोग्य भूमिको उपलब्धता, यातायात लगायतका पूर्वाधार निर्माण गर्न तुलनात्मक सहजता तथा वैदेशिक व्यापारको लागि प्रस्थान विन्दुसमेत भएको कारणले यस प्रदेशमा कृषिका अतिरिक्त औद्योगिक क्षेत्र विकासको पनि उत्तिकै सम्भावना रहेको छ ।

यो प्रदेश भारतीय सीमासँग जोडिएकाले उत्पादनशील उद्योग तथा कलकारखानाहरु स्थापना गरी उत्पादित वस्तु तथा सेवा भारततर्फ निकासी गर्न समेत तुलनात्मक रुपले निकै सहज छ । 

यस प्रदेशमा प्रसिद्ध जानकी मन्दीर तथा अन्य प्रदेशको तुलनामा पौराणिक महत्वका ताल तलैयाहरु प्रशस्त रहेकाले धार्मिक तथा सांस्कृतिक पर्यटनको पनि राम्रो सम्भावना रहेको छ ।

नेपालमा जल मनोरञ्जनका श्रोतहरु कम भएको सन्दर्भमा यस प्रदेशका जनकपुरधाम क्षेत्रमा धेरै संख्यामा रहेका पोखरीहरुको सरसफाई तथा सडक पूर्वाधार सुधार गरी गुणस्तरीय होटल तथा रेष्टुरेन्टको स्थापना गरी मनोरञ्जनात्मक क्रियाकलापमा वृद्धि गर्न सके यो प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गरी राजस्व संकलनमा समेत वृद्धि गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

ठूलो जलाशय रहेको सप्तकोशी नदी यस प्रदेशको सीमा नदीको रुपमा रहेकोले जल मनोरञ्जन गर्न रुचाउने पर्यटकको लागि अवसरको रुपमा रहेको, नजिकै रहेको सिन्धुलीगढीमा युद्ध संग्रहालयको स्थापना भएको तथा माछा पालनको लागि प्रख्यात रहेको यस प्रदेशमा मत्स्य पर्यटनसँग सम्बन्धित क्रियाकलाप समेत वृद्धि गर्न सकिने देखिएको हुँदा स्तरीय होटल तथा लजको व्यवस्था हुन सकेमा अन्य प्रदेशको तुलनामा पर्यटकीय दृष्टिले पछाडि रहेको यस प्रदेशमा पर्यटकीय क्रियाकलापमा समेत अभिवृद्धि गर्न सक्ने सम्भावना देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]