Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मुलुकको वित्तीय सूचक समग्रमा निराशाजनकः राष्ट्र बैंक

२०७८ मंसिर ६ गते

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलाे तीन महिनामा मुलुकको वित्तीय सूचक नकारात्मक देखिएको जनाएकाे छ। पछिल्लो तीन महिनाको अवधिमा भुक्तानी सन्तुलन, रेमिट्यान्स, निर्यात तथा आयातमा उल्लेख्य सुधार नभएको तथ्याङ्क सार्वजनिक भएको छ। यता, वैदेशिक व्यापार र निर्यातको आँकडा बढ्दा विप्रेषणमा पनि कमी आएको छ।

गत मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वित्तीय प्रतिवेदनमा मुलुकको अर्थतन्त्रका सूचक सकारात्मक देखिएकाे छैन। राष्ट्र बैङ्कको तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब रुपैयाँ घाटामा देखिएको छ। गत साउन र भदौ महिनामा १ खर्ब ६ अर्ब रुपैयाँले मात्र घाटा थियो। एक महिनाको अवधिमा नै ४५ अर्ब रुपैयाँले घाटा वृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो। तीन महिनाको अवधिमा शोधानान्तर घाटासमेत बढेर ७६ अर्ब १४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको थियो।

त्यस्तै, असोज महिनामा उपभोक्ता मूल्यवृद्धि ४.२४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्यवृद्धि ३.७९ प्रतिशत थियो।

चालु आर्थिक वर्षको तीन महिनामा राष्ट्र बैंकले १ खर्ब १९ अर्ब ३५ करोड रुपैयाँ पुनरकर्जा दिएको छ। राष्ट्र बैंकले १ लाख २९ हजार ६ सय ८० ऋणीलाई सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा दिएको हो। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५३ हजार ७ सय ८५ ऋणीलाई प्रवाह भएको १ खर्ब २६ अर्ब ८१ करोड कर्जा रहेको छ।

महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ७८ महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब ३२ करोड कर्जा रहेको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय १७ ऋणीको ३ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ।

राष्ट्र बैङ्कको अध्ययनले ३ महिनामा ४ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको देखाएको छ। यो परिमाण गत वर्षको सोही अवधिको तुलनामा ६३.७ प्रतिशतले बढी हो। कुल वस्तुको निर्यात १०९.५ प्रतिशतले वृद्धि भएर ६५ अर्ब ५ करोड पुगेको छ।

यसमध्ये ६२ अर्ब ६८ करोड रुपैयाँको पुँजीगत आयात भएको हो। उपभोग्य वस्तुको एक खर्ब ७९ अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ। पुँजी र उपभोग्य दुवै मिश्रित प्रकृतिका वस्तुको २ खर्ब ४५ अर्ब रुपैयाँको आयात भएको छ।

तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो। त्यस्तै, राष्ट्र बैंकका अनुसार ७.६ प्रतिशतले रेमिट्यान्स घटेको छ। रेमिट्यान्स आउने नेपालको स्रोत भनेकै वैदेशिक रोजगारी हो। यसरी चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

यता तीन महिनाको अवधिमा घरजग्गा तथा आवासीय क्षेत्रमा २८ अर्ब २० करोड ६४ लाख रुपैयाँले कर्जा प्रवाह भएको छ। जसमा तीन महिनाको अवधिमा १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ १ करोड ५० लाखसम्म व्यक्तिगत घर ऋण लिने र १६ अर्ब २ करोड ३४ लाख रुपैयाँ रियल स्टेटमा कर्जा प्रवाह बैंकहरुले गरेका छन्।

गत वर्ष सोही अवधिमा बैंकहरुले ९ अर्ब २८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यसरी गत वर्षको तुलनामा साेही अवधिमा घरजग्गा तथा आवासीय क्षेत्रमा १२.८ प्रतिशतले बढी कर्जा प्रवाह भएको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ।

बैंकले घरजग्गा तथा आवासीय क्षेत्रमा ५ खर्ब १० अर्ब ८ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसमा व्यक्तिगत आवासीय घर कर्जातर्फ ३ खर्ब १० अर्ब ४४ करोड ३७ लाख र रियल स्टेट ऋणतर्फ १ खर्ब ९९ अर्ब ६४ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

साउनदेखि असोज मसान्तसम्ममा १ करोड ५० लाखसम्ममा आवासीय रियल स्टेटतर्फ ५ अर्ब ५५ करोड १७ लाख रुपैयाँ र व्यापारिक कम्प्लेक्स तथा अपार्टमेन्टमा ३ अर्ब ९१ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

Ad