सामाजिक सुरक्षा भत्ता लिएकाले विपन्न भत्ता नपाउने !


Bankingkhabar /October 9, 2021

सामाजिक सुरक्षा भत्ता लिने घरपरिवारले विपन्न भत्ता नपाउने भएका छन् । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत गरिब घरपरिवारलाई विपन्न भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । मन्त्रिपरिषद्मा विचाराधीन रहेको यो कार्यक्रमको कार्यविधि मस्यौदामा सामाजिक भत्ता पाइरहेका एकाघरका व्यक्तिले विपन्न भत्ता नपाउने उल्लेख छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार वृद्धभत्ता, अपाङ्गता भत्ता, एकल महिला भत्तालगायत विभिन्न १० शीर्षकमा पाइने सामाजिक सुरक्षा भत्ता लिइरहेका घर परिवारले यस्तो सुविधा पाउने छैनन् । कुनै पनि प्रकारका सामाजिक सुरक्षा नपाएका घरपरिवारमात्र विपन्न भत्ताका लागि योग्य हुने गरी कार्यविधि बनाइएको छ । विपन्न परिवार छुट्याउने र भत्ता बाँड्ने जिम्मा स्थानीय तहलाई दिइने मस्यौदामा उल्लेख छ । त्यस्तै, रकम वितरणका लागि बैंक खाता अनिवार्य गरिएको छ । स्थानीय तहको सिफारिसमा बैंक तथा वित्तीय संस्थाले यो रकम भुक्तानी गर्नेछन् ।

सरकारले बजेटमार्फत कोभिड–१९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका अति विपन्न ५ लाख घरपरिवारलाई राहतस्वरूप एक पटकका लागि प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो अनुदान रकम असोज महिनाभित्र हस्तान्तरण गरिसक्नेसमेत बजेटमा उल्लेख छ । तर कार्यविधि मन्त्रिपरिषद्बाट पारित नभइसकेकाले यो कार्यक्रम अझै कार्यान्वयन हुन सकेको छैन । मन्त्रालय स्रोतका अनुसार कार्यविधि असोज दोस्रो साता नै मन्त्रिपरिषद्मा पठाइएको थियो ।

महामारीको समयमा रोजगार गुमाएका व्यक्तिहरुले आफूले रोजगार गुमाएको स्वघोषणा गर्नुपर्ने पनि कार्यविधिको मस्यौदामा उल्लेख छ । रोजगार गुमाएका असंगठित क्षेत्रका कामदारलाई स्थानीय तहको सिफारिसपछि १० हजार रुपैयाँ उपलब्ध गराइनेछ । यो पनि एक पटकका लागि मात्रै उपलब्ध हुनेछ । कान्तिपुर दैनिकमा प्रकाशित समाचार 


सोसिअल मेडिया