
बैंकिङ खबर । सिभिल सहकारीका निक्षेकर्ता ठगी गरेको अभियोगमा सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित झण्डै एक दर्जनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ ।
ब्युरो स्रोतका अनुसार अध्यक्ष तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग लागेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार तामाङसहितका व्यक्तिलाई सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएका आधारमा पक्राउ गरिएको हो । तामाङले उक्त सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको जाहेरीमा उल्लेख छ।
‘हालसम्म ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ, जुन निवेदन एकै दिन दर्ता भएका हुन । केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार निवेदन सोमबार मात्र दर्ता भएको हो ।
३१ करोड २४ लाख ५७ भन्दा बढी रुपैयाँ शेयर पुँजी रहेको सिभिलले ८ अर्ब ३५ करोड १० लाख भन्दा धेरै कर्जा लगानी गरेको जनाएको छ। सर्वसाधारणको ८ अर्ब रुपैयाँ निक्षेप लिएर इच्छाराजले ७ अर्ब रुपैयाँभन्दा बढी आफैंले कर्जा लिएका छन्।