Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चिनीयाँ बैंकिङ प्रणाली : दीर्घकालीन उत्पादनमा लगानी बढाउने रणनीति !

२०७८ आश्विन १७ गते

बैंकिङ खबर । पछिल्लो दुई दशकयता चिनको बैँकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैँकहरु गइसकेका छन् । पिपुल्स बैँक अफ चाइना (पीबीओसी) चिनको केन्द्रिय बैँक हो । सबै चिनियाँ बैँकहरुको नियामक संस्थाको रुपमा यस बैँकले काम गर्दै आएको छ । बैँकका कर्मचारीहरुको पारिश्रमिक निर्धारण गर्ने, वित्तिय संस्थाहरुलाई नियमन गर्ने, बैँकिङ क्षेत्रको व्यवस्थापन, विदेशी विनिमय दरको व्यवस्थापन, सुन रिजर्भ लगायतका कामहरु गर्ने गर्दछ । विदेशी विनिमयसम्बन्धि नितीहरु बनाउनको लागि यस बैँकले स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सचेन्ज पनि हेर्ने गर्दछ । सन् १९९५ को सेन्ट्रल बैँकका अनुसार, पीबीओसीसँग बैँकहरुको व्याजदर तय गर्ने लगायतको सम्पूर्ण नियामक कामकारबाहीहरुमा एकाधिकार रहेको छ ।

स्टेट काउन्सिलले पीबीओसीका नीति तथा नियमहरुको निगरानी गर्ने गर्दछ । चाइना बैँकिङ रेगुलेटरी कमिसन पीबीओसीको निगरानीका लागि २००३ को अप्रिल २८ तारिखका दिन औपचारिक रुपमा गठन भएको थियो । यस कमिशनको मूख्य उद्देश्य भनेको सम्पूर्ण बैँकहरुको सुपरभिजनलाई अझ व्यवस्थित बनाउनु तथा वृहत अर्थतन्त्र र करेन्सी पोलिसीमा बढी ध्यान दिनको लागि पीबीओसीलाई सहयोग पुर्याउनु थियो ।

सबै आर्थिक क्षेत्रलाई वित्तिय प्रणालीमा समेट्दै चिनियाँ सरकार
चीनका चारवटा कमर्सियल बैँकहरु सरकारी स्वामित्वमा रहेका छन् । बैँक अफ चाइना, चाइना कन्स्ट्रक्सन बैँक, इन्डस्ट्रीयल एण्ड कमर्सियल बैँक अफ चाइना र एग्रिकल्चरल बैँक अफ चाइना चिनको सरकारी स्वामित्वमा भएका बैँकहरु हुन् । यी बैँकहरुलाई व्यवसायिकरण गर्नको लागि सन् १९९५ मा चिनियाँ सरकारले कमर्सियल बैँक ल्याएको थियो । यी बैँकहरुले विशिष्ट उद्देश्यका साथ छु्ट्टा छुट्टै क्षेत्रलाई केन्द्रमा राखेर सेवा अघि बढिरहेका छन् ।

इन्डस्ट्रीयल एण्ड कमर्सियल बैँक अफ चाइना

इन्डस्ट्रीयल एण्ड कमर्सियल बैँक अफ चाइना चिनको सबैभन्दा ठूलो बैँक हो । अन्य सरकारी वाणिज्य बैँकहरुभन्दा यो बैँक केही पृथक रहेको छ । चिनको सहरी भेग र उत्पादनमूलक क्षेत्रमा सेवा दिने यो प्रमुख वित्तिय संस्था हो । बैँक अफ चाइना विदेशी विनिमय कारोबार र व्यापारिक वित्तिय कारोबारमा केन्द्रित छ । त्यस्तै, चाइना कन्स्ट्रक्सन बैँक मध्यमदेखि दीर्घकालीन क्रेडिट र पूर्वाधार विकास, सहरी विकास लगायतका दीर्घकालीन प्रोजेक्टहरुलाई केन्द्रमा राखेर लगानी तथा कारोबार गर्ने गर्दछ भने एग्रिकल्चरल बैँक अफ चाइनाले मुलुकभित्रको कृषि क्षेत्रलाई आफ्नो लगानीको केन्द्र बनाएर कारोबार गर्दै आइरहेको छ । साथै, कृषक, ग्रामीण तथा साना उद्यमी र ग्रामीण संस्थाहरुलाई होलसेल तथा रिटेल बैँकिङ सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यसरी चिनको बैँकिङ क्षेत्रले सबै आर्थिक क्षेत्रलाई समेटेको छ । सबै क्षेत्रको समान र सन्तुलित विकासलाई ध्यानमा राख्दै चिनियाँ सरकारले नै बैँकिङ सेवा सञ्चालन गरिरहेको छ । 

क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) लाई अबैध घोषणा

चीन सरकारले क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) लाई अबैध घोषणा गरेर यसको कारोबारमा बन्देज लगाएपछि सो को प्रभाव सन्सार भर पर्ने देखिएको छ । चिनको यो सक्रियतापछि क्रिप्टोकरेन्सी कारोबारीहरु आतंकित भएका छन् । यसले विश्वकै काारेबारीमा सन्त्रास आएको छ । चिनमा अत्याधिक व्यक्तिले यो कारोबार गर्छन् । पिपल्स बैंक अफ चाइनाले हालै भर्चुअल मुद्राको कारोबारलाई अवैध घोषणा गर्दै त्यससँग जोडिएका कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको थियो । चिन क्रिप्टोकरेन्सी भर्चुअल मुद्राको प्रयोगलाई निस्तेज पार्ने नीतिका रूपमा अघि सरेको छ । चिनले भौतिक अस्तित्व नभएका बिटक्वाइनलगायत सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार र माइनिङलाई अवैध भनेको छ । चिनमा यो घोषणा सँगै केन्द्रीय बैंक, धितोपत्रको नियामक निकाय तथा विदेशी विनियमको कारोबार गर्ने संस्थाहरूले भर्चुअल मुद्राको कारोबारलाई निस्तेज पार्न संयुक्त रूपमा पछिल्लो कदम चालिरहेका छन् । वित्तीय संघसंस्था, विभिन्न कम्पनी, भुक्तानी तथा इन्टेरनेट कम्पनीलाई क्रिप्टोकरेन्सीसँग सम्बद्ध क्रियाकलाप नगर्न निर्देशन दिइएको छ । पछिल्लो समय अभौतिक मुद्राको मूल्यमा विश्वव्यापी रूपमा गिरावट नै आएको छ । चीनमा यसअघि लुकिछिपी क्रिप्टोकरेन्सी कारोबार हुँदै आएको थियो ।

Ad