बैंकिङ खबर । निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदबाट हटाउने तयारी गरेको छ । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन हुनुअगावै छोरीको नामबाट सेयर खरिद गरिएको भन्दै उनी विरुद्ध विभिन्न व्यक्ति र संगठनले आवाज उठाएपछि उनलाई सरकारले छानविनको दायरामा राखेको थियो । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका बोर्ड अध्यक्ष ढुंगानामाथि छानबिनका क्रममा यसअघि नै उनलाई १६ भदौमा निलम्बन गरिएको थियो । सरकारले अध्यक्ष ढुंगानालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न गत सोमबार निर्देशन दिएको थियो । सर्वोत्तम सिमेन्टमा ढुंगानाले छोरी रेबिका ढुंगानाका नाममा ११ हजार नौ सय १२ कित्ता सेयर खरिद गरेका थिए ।