September 23rd, 2021

कर्जा परिचालन गर्दा बैंक/वित्तका कर्मचारीले अपनाउनुपर्ने सावधानीहरु :

 

बैंकिङ खबर ।  भविष्यमा अर्थात निर्धारित समय सिमा भित्र रहेर निर्धारित सिस्टममा भुक्तान गर्ने गरी बैंकले दिने रकम नै कर्जा वा ऋण हो । बैंकहरुमा विभिन्न क्षेत्र, संस्था वा व्यक्तिले जम्मा गरेको रकम तथा बैंकका संचालकहरु एवं सेयरधनीहरुले गरेको लगानी नै बैंकले कर्जाका रुपमा दिने पैसा हो । बैंकले यसरी प्रवाह गर्ने पैसा अरु कसैको पैसा भएका कारण कुनै पनि समय बैंकले उक्त पैसा फिर्ता गर्नुपर्ने हुन्छ । प्रक्रियाका आधारबाट एक ठाउँको पैसा अर्को ठाउँमा परिचालन गर्ने काम बैंकको हो । यसर्थ बैंकले कर्जा (ऋण) प्रवाह गर्दा उक्त ऋण असुल उपर हुनेगरी प्रवाह गर्नुपर्ने हुन्छ । बैंकहरुले अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन रुपमा कर्जा प्रवाह गर्दछन् । यस अन्तर्गत बैंकले व्यक्तिगत ग्राहकलाई सुन, चाँदी, घरजग्गा, मुद्दती, रसिद, नेपाल सरकारको ऋणपत्र, ट्रेजरी विल, राष्ट्रिय बचतपत्र, विकास ऋणपत्र आदि धितो राखी कर्जा प्रदान गर्दछन् ।

कर्जाका मापदण्डहरु :
कर्जा भनेको उपयोग गर्नेले निश्चित समयपछि एकमुष्ट वा पटक पटक गरी ब्याज सहित फिर्ता गर्ने रकम हो । बैंकले कर्जा दिने भन्दैमा जसरी पायो त्यसरी र जो पायो त्यसलाई कर्जा दिँदैन । बैंक कुनै एक व्यक्तिको सम्पति होइन यो त आम मानिसको हो । त्यहाँ त लाखौ जनताको पैसा हुन्छ । उक्त पैसा भुक्तानी गर्ने दायित्व बैंकको हुन्छ । यसर्थ बैंकले कर्जा प्रवाह गर्दा उक्त कर्जा फिर्ता हुनसक्ने र खराब कर्जा नहुने गरि सचेतना अपनाउनुपर्ने हुन्छ । समाजमा विभिन्न थरीका मानिस हुन्छन् । विभिन्न पेशा र व्यवसायमा आवद्ध मानिस हुन्छन् । ती मानिसहरुको पहिचान व्यक्ति वा अनुहारले देखाउँदैन यस कारण कर्जा प्रवाह गर्दा मुख्य दुई मापदण्डहरु अपनाउनु पर्ने हुन्छ ।

१ तरलताको अध्ययन :
बैंकसँग प्रयाप्त रकम छ कि छैन । अर्थात बैंकमा रहेको रकम तरलता संकट हुनेगरी सबै रकम कर्जामा लगानी गर्नु हुँदैन । बैंकको तरलता अबस्थालाई मूल्याङकन गरेर कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । त्यस्तो अबस्थामा नेपाल राष्ट्र बैकले तोकेको दरले अनिवार्य नगद मौज्दात राख्नुपर्ने हुन्छ ।

२ सुरक्षाको ग्यारेन्टी : 
कर्जा प्रवाह गर्दा पहिलो सर्त भनेकै सुरक्षाको ग्यारेन्टी हो । कर्जा यथासमयमा असुली गर्न सकिन्छ कि सकिँदैन ? यदि कर्जा समयमा असुली गर्न सकिएन भने बैंकको आर्थिक स्थिति नकारात्मक बाटोतर्फ उन्मुख हुन्छ । यसर्थ बैंकले प्रवाह गरेको कर्जा यथासमयमा असूली हुन सक्ने गरी मात्रै कर्जा प्रवाह गर्नु पर्दछ । संसारभरीका बैंकहरुमा आउने समस्याको मुख्य कारण भनेकै कर्जा असुल गर्न नसक्नु हो । यसर्थ बैंकले दिएको कर्जा निर्धारित समयमा असुल हुने गरी कर्जा प्रवाह गर्नुपर्दछ ।

कर्जा दिने आधारहरु : 
हरेक वित्तिय संस्थाले आफ्नो लगानीको सुरक्षा चाहन्छ । त्यसैले जस्तोसुकै ठाउँमा पनि बैंकले कर्जा प्रवाह गर्दैन । कर्जा दिँदा बैंकले कर्जा लिने व्यक्तिको बारेमा जानकारी लिन्छ । उक्त व्यक्तिको विवरण अनुसार त्यस व्यक्तिले कर्जा चुक्ता गर्न सक्ने प्रष्ट पारेमा मात्रै बैंकले कर्जा दिन्छ । यसका लागि बैंकले निम्न कुराहरुको जानकारी लिने गर्दछ ः

वैयक्तिक चरित्र : कर्जा प्रदान गर्नुभन्दा अगाडि कर्जा प्रस्ताव गर्न आउने व्यक्तिको नियत ठिक भएको र बैंकबाट लिएको कर्जा तिर्ने भावनाको छ वा छैन अध्ययन गरिन्छ । ठगी वा जाल्साजी गर्ने नियतको हो वा होइन बैंकले छुट्याउँछ । पहिला कुनै बैंक वा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको, लिएको भए कर्जा इतिहासबारे जानकारी लिन्छ ।

योग्यता वा क्षमता : कर्जा प्रदान गर्न लागिएको व्यक्ति वा संस्था करार ऐन बमोजिम करार गर्न योग्य छ वा छैन भन्ने कुरा बिचार गर्दछ । यदि करार गर्न सक्षम व्यक्ति हो भने उसको शैक्षिक योग्यता तथा कुन व्यवसायसँग सम्बन्धित हो ? जस्ता कुराहरुबारे पनि जानकारी लिनुपर्ने हुन्छ ।

पूँजी  कर्जा (ऋण)  : लिन आउने व्यक्ति वा संस्थाले कति रुपैयाँको लागि प्रस्ताव गर्न आएको हो, सो कर्जाको मात्रा उसको आय स्थिति, चल अचल सम्पत्तिको अवस्था के छ अध्ययन गर्नुपर्ने हुन्छ । साथै व्यवसायको लागि कर्जा लिन आएको अवस्थामा उसको व्यवसायको प्रकृति, व्यवसायमा लगानी गरेको पूँजीको मात्रा जस्ता कुराहरुको विश्लेषण गर्नुपर्दछ ।

सुरक्षण : बैंकले कर्जा प्रदान गर्दा उचित धितो वा सुरक्षण राख्नुपर्दछ । साथै उक्त धितोको बजार भाउ र मूल्याङकनमा समेत ध्यान दिनुपर्ने हुन्छ ।

बाह्य वातावरण : बैंकले कर्जा प्रदान गर्दा राजनीतिक वातावरण, उसको सुरक्षणको बाहिरी स्थिति वा बजारमा विश्वासयोग्य, बिक्रीयोग्य छ कि छैन आदि सम्पूर्ण बाहिरी पक्षसमेत मुल्यांकन गर्नुपर्ने हुन्छ । त्यस्ता सूचनाहरु उसको नजिकका व्यक्ति, छरछिमेक वा अन्य परिचित व्यक्ति वा व्यवसायीबाट लिन सकिन्छ । ऋण तिर्न नसकी कालो सुचीमा परेको हो वा होइन ? साथै उसको कर्जा इतिहास कस्तो छ ? जस्ता कुराहरुको जानकारी बैंकलाई हुनुपर्दछ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]