September 21st, 2021

बैंकिङ तरलता के हो ? तरलताको प्रभाव कस्तो हुन्छ ?

बैंकिङ खबर । कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।

तरलताको आवश्यकता किन पर्छ ?
मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ । तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चापदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ । त्यसैले, कमजोर तरलताले धेरै किसिममा समस्या निम्त्याउन सक्छन् ।

तरलता मूल्याङ्कनको परम्परागत विधि
व्यावसायिक इकाइहरूले तरलताको अवस्था मूल्याङ्कका लागि दुई मुख्य आधारहरूलाई लिने गरेका छन् । यी आधारहरूमध्ये एक चालू अनुपात वा करेण्ट रेसियो हो भने अर्काे क्विक रेसियो । करेण्ट रेसियो कुल चालू सम्पत्तिलाई कुल चालू दायित्वले भाग गरेर निकालिन्छ । चालू सम्पत्ति भन्नाले ती सम्पत्तिलाई बुझाउँछ, जुन १ वर्ष वा १ कार्य वर्ष (जुन समयावधि लोमो हुन्छ)भित्र रकममा परिवर्तन गर्न सकिन्छ । चालू सम्पत्तिमा नगद, बैङ्कमा रहेको नगद मौज्दात, प्राप्त हुनुपर्ने रकमहरू (एकाउण्ट रिसिएबल)लगायत पर्छन् । त्यसैगरी, चालू दायित्व भनेको त्यस्ता तिरोहरू हुन्, जुन १ वर्ष वा १ कार्य वर्षमा भुक्तान गरिसक्नुपर्छ । सिद्धान्ततः २ बराबर १ अनुपातमा रहने करेण्ट रेसियो सन्तोषजनक र राम्रो मानिन्छ । यसले चालू दायित्वको तुलनामा कम्पनीको चालू सम्पत्तिमा दोब्बर बढी पूँजी रहेको देखाउँछ । यद्यपि, व्यावहारिक दृष्टिकोणले कम्पनीको स्तरीयताको आधारमा तरलताको मूल्याङ्कन हुनुपर्ने सुझाव दिइन्छ ।

करेण्ट रेसियोको तुलनामा क्विक रेसियो तरलता मूल्याङ्कनका लागि अझ बढी उपयोगी मानिन्छ । करेण्ट रेसियोको मूल्याङ्कनमा हुने मुख्य त्रुटि भनेकै यसले इन्भेण्ट्री र अग्रिम चुक्ता खर्चलाई पनि तरलताको मूल्याङ्कनको क्रममा प्रयोग गर्छ । जब कि, वास्तवमा यी दुईलाई तरल सम्पत्तिको रूपमा कमै लिइन्छ । यी दुईलाई क्विक रेसियोमा प्रयोग गरिँदैन । किनकि, क्विक रेसियो तरल सम्पत्तिलाई चालू दायित्वले भाग गरेर निकालिन्छ । इन्भेण्ट्री र अग्रिम चुक्ता खर्चबाहेकका चालू सम्पत्तिलाई मात्र तरल सम्पत्तिको रूपमा क्विक रेसियोले हिसाब गर्छ । क्विक रेसियो १ भए राम्रो मानिन्छ । तर कम्पनीको स्तरीयताको आधारमा तरलताको मूल्याङ्कन गर्ने कुरा भने ध्यानमा राखी राख्नुपर्दछ ।  

तरलता मूल्याङ्कनको वैकल्पिक विधि
परम्परागत मूल्याङ्कन विधिलाई मात्र लगानीकर्ताले अनुसरण गर्नु हुँदैन । तरलताको मूल्याङ्कनमा वैकल्पिक विधिलाई पनि प्रयोग गर्नु राम्रो हुन्छ । यसका लागि दीर्घकालीन ऋणबाट खुद स्थिर सम्पत्ति घटाएपछि खुद सञ्चालन पूँजीले भाग गरेर तरलता निकालिन्छ  ।

दीर्घकालीन ऋण चुक्तापूँजी र ननकरेण्ट लायबिलिटिज जोडेर निकालिन्छ । खुद स्थिर सम्पत्ति निकाल्न कुल स्थिर सम्पत्तिबाट सञ्चित ह्रासकट्टी खर्च घटाएर निकालिन्छ । खुद सञ्चालन पूँजी कुल चालू सम्पत्तिबाट कुल चालू दायित्व घटाएर निकालिन्छ । नगद मौज्दातलाई कुल चालू सम्पत्तिको रूपमा भने लिइँदैन । दीर्घकालीन ऋण भने खुद स्थिर सम्पत्तिभन्दा धेरै हुनुपर्छ भने कुल चालू सम्पत्ति (नगद मौज्दातबाहेक) पनि कुल चालू दायित्वभन्दा धेरै हुनुपर्छ ।

केही भने क्यास रेसियोबाट पनि तरलताको मूल्याङ्कन गर्छन् । क्यास रेसियो कुल नगद र नगदजस्तै क्यास सम्पत्तिको योगलाई कुल चालू दायित्वले भाग गरेर निकालिन्छ । तर पनि तपाईंको विश्लेषण यतिमै मात्र सीमित भने हुनुहुँदैन । यदि कुनै कम्पनी तरलता समस्यामा रहेको छ भने यस्तो किन भएको छ र यसमा कसरी अघि बढ्न सकिन्छ, हेर्नुपर्ने हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]