Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

कौडी के हो ? कस्तो कौडी कति मूल्यवान् ?

२०७३ भाद्र १४ गते

kaudiकौडीका अस्तित्व कहिलेदेखि छ भन्ने कुरा यकिनन भन्न मुस्किल छ । तर प्राचीन कालदेखि नै यो मानव जीवनको धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ । यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने श्रृंगार पनि गर्ने गरिन्छ । परन्तु यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सुलभ यानीकि सजिलो बनाउनका लागि गर्ने गरियो । यहि कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन् भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ । प्राचीन कालदेखि नै कौडी सिक्काको रूपमा चलिरह्यो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्व थियो । 

के हो कौडी ?
कौडी वस्तुतः एक समुद्री कीराको ’अस्तिकोष’ हो । यो जलजीव ’मोलस्का’ वर्गको सबैभन्दा ठूलो उपवर्ग ’ग्यास्ट्रोपोडा’ मा आउँदछ । विज्ञानको भाषामा कौडीलाई ’साइप्रिया’ भनिन्छ । अंग्रेजीमा यसलाई ’काउरी’ (Cowrie), फ्रेन्च जर्मनी र रुसी भाषामा यसलाई ’कुरडी’ भनिन्छ । नेपालमा प्रचलित नाम ’कौडी’ नै हो । 
यो गहुँको दानाको आकारदेखि लिएर हाम्रो हत्केलाको मुठ्ठी आकारसम्मको हुने गर्दछ । कौडी हिन्द महासागरको धेरैजसो क्षेत्रमा पाइन्छ भने उत्तरमा जापानदेखि लिएर दक्षिणमा न्यू साउथ वेल्ससम्म देख्न सकिन्छ । भूमध्यसागर र अमेरिकाको दुवै तटहरूमा धेरै किसिमका कौडी पाइने गर्दछ । यसको केही जातिहरू समशीतोष्ण सागरहरू र महासागरहरूमा पनि पाइन्छ । समशीतोष्ण सागरहरूमा पाइने कौडी सानो हुन्छ भने त्यति राम्रो मानिदैंन । इंग्ल्याण्डको सागर तटहरूमा पनि यस्तै कौडी पाइन्छ । विशेषज्ञहरूका अनुसार आज विश्वभरमा १६५ प्रकारका कौडीहरू उपलब्ध छ । यसमध्ये प्रिन्स, ल्युकोट्रोन गट्टाटा, कुल्टन्स, वाक्लेस, ब्रोडरिया, युरेनियम र रबीज नामका कौडीहरू श्रेष्ठ मानिन्छ । यस श्रेष्ठ कौडीहरूमा सर्वा्धिक श्रेष्ठ हुन्( प्रिन्स कौडी । केही अन्य किसिमका कौडीहरूको नाम यसप्रकार छः चीतल कौडी, चालना कौडी, मोल कौडी, मैव कौडी, क्यालिफोर्निया कौडी, काफब्रीन कौडी, ओविक कौडी, टाइगर कौडी, डान कौडी, गोल्डेन कौडी, शटल कौडी, हनी कौडी इत्यादि । 

मुद्राको रुपमा कौडी
कौडीको छुट्टै आफ्नै पहिचान छ । नक्कली नोटहरु छपाएजस्तो नक्कली कौडी बनाउन मिल्दैन । किनकी यो मानवनिर्मित नभई प्राकृतिक वस्तु हो । एक ठाउँबाट अर्को ठाउँमा लैजान सजिलो हुने र गन्ती गर्न समेत सहज हुने भएकाले प्राचीन समयमा कौडीलाई मुद्राको रूपमा छानियो । कौडीको ठाउँमा आज धातुहरूको सिक्काले लिएको छ । सबै प्रकारको कौडीहरूको प्रयोग मुद्राको रूपमा गरिँदैन । १६५ किसिमको कौडीहरू मध्ये केवल दुई प्रकारको कौडीहरू मात्र मुद्राको रूपमा प्रचलित रहेको पाइन्छ । यो हो ’मनी कौडी’ (साइप्रिया मोनेटा) र ’रिंग कौडी’ (साइप्रिया अनेसल) । यी दुवै प्रकारको कौडीहरू सानो, चिल्लो र मोटो किनार भएको हुन्छ । मनी कौडी पहेंलो रंगको हुन्छ भने तौलमा अन्य कौडीहरू भन्दा केही गह्रौ हुन्छ । रिंग कौडीको रंग हल्का सोतो हुन्छ । यसको पीठमा सुन्तला रंगको गोलो हुने गर्दछ, यसैले यस कौडीको नाम रिंग कौडी भएको हो । 

मूल्यवान कौडीहरू
कौडीहरू मूल्यवान् पनि हुन्छन् । यसको मूल्य यसको आकृतिको आधारमा तय गर्ने गरिन्छ । कौडीहरूको मूल्य केही पैसादेखि लिएर एक करोडसम्म पर्छ । ’प्रिन्स’ नामक कौडी विश्वभरमा केवल एउटै मात्रै छ, जुन ब्रिटिश संग्रहालयमा संग्रहित छ । सन् १९६१ मा यसको मूल्य ४५ हजार रूपैयाँ थियो भने आज यसको मूल्य लगभग २ करोड ५० लाख रूपैयाँ आंकिएको छ । ’ल्युकोट्रोन’ नामक कौडी सन् १८२८ सम्म एउटै थियो । सन् १८६० मा एउटाबाट बढेर दुईवटा पुग्यो र सन् १८६५ सम्म ल्युकोट्रोन कौडीको संख्या बढेर सातसम्म पुग्यो । ’गट्टाटा’ नामक कौडीको संख्या आज विश्वभरीमा लगभग २५ देखि ३० वटा रहेको अनुमान छ । वर्तमान समयमा एउटा गट्टाटा कौडीको मूल्य २० हजार रूपैयाँ भन्दा बढी छ । ’रबीज’ नामक कौडीको मूल्य ५ हजार रूपैयाँ छ । ’युरेनियम’ नामक कौडीको मूल्य अमेरिकामा लगभग २ हजार अमेरिकी डलर छ र ’मिडवे सायनसिम’ नामक कौडीको मूल्य जापानामा लगभग दुई हजार अमेरिकी डलर सम्म पर्छ । 
आज कैडीको आर्थिक महत्व त त्यति धेरै छैन, तर समृद्धि र लक्ष्मीको प्रतीकको रूपमा आज पनि यसलाई पूजा गर्ने गरिन्छ ।