
बैंकिङ खबर / नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो समयपछि एक कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो ।
गत शुक्रबार बसेको सेबोनको बैठकले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । स्वीकृतिअनुसार हिम पर्वत हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ५९ करोड १५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकको भूमिकामा रहेको छ ।
सेबोनले गत वैशाख २ गतेपछि कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थिएन । त्यसयता करिब पाँच महिनापछि हिम पर्वत हाइड्रोपावरले पहिलोपटक आईपीओ निष्कासनको स्वीकृति पाएको हो । यससँगै लामो समयदेखि रोकिएको आईपीओ स्वीकृति प्रक्रियाले पुनः गति लिने संकेत देखिएको छ । हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै २०८१ मंसिर ५ गते सेबोनमा आवेदन दिएको थियो । आवेदन दिएको लामो समयपछि कम्पनीले निष्कासन स्वीकृति पाएको हो ।
कम्पनीले ५.५ मेगावाट क्षमताको सागु खोला–१ र २० मेगावाट क्षमताको सागु खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीका अनुसार दुवै आयोजनाबाट २०८२ सालदेखि विद्युत् उत्पादन हुँदै आएको छ । आईपीओ निष्कासनमार्फत कम्पनीले सर्वसाधारणबाट ५९ करोड १५ लाख रुपैयाँ पुँजी जुटाउनेछ । स्वीकृति पाएसँगै अब कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ ।