Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

डिजिटल कारोबारमा मोवाइल बैंकिङको बर्चश्व

२०७८ भाद्र १७ गते

बैकिङ खबर । नेपालमा खल्तीभरि सिक्का नोटबाट सुरु भएको आर्थिक कारोबार विज्ञान र प्रविधिको विकाससँगै क्यासलेससम्म आइपुगेको छ । क्रमश: विज्ञान र प्रविधिको पनि प्रतिस्पर्धात्मक यो २१ औं शताब्दीसम्म आइपुग्दा नेपालमा डिजिटल तथा अनलाइन पेमेन्ट सुरु गर्ने डिजिटल वालेटको स्थान क्रमशः मोबाइल बैंकिङले लिन थालेका छन् । कारोबार गर्दा आफ्नो बैंक एकान्तबाट वालेटमा रकम लोड गर्नुभन्दा सिधैं मोवाइल बैंकिङमार्फत् गर्दा सजिलो र सयमको बचत हुने हुँदा यसको प्रयोग बढी भएको हो ।

गत आर्थिक वर्षदेखि नै अगाडि रहेको मोबाइल बैंकिङ सेवा यो आर्थिक वर्षदेखि कारोबार संख्यामा समेत मोबाइल वालेटलाई पछि पारेको छ । नेपाल राष्ट्र बैंकले मुलुकको विद्यमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार डिजिटल वालेटको तुलनामा मोबाइल बैंकिङको प्रयोगले ठूलो फड्को मारेको छ ।

२०७७ को साउनसम्म ७ अर्ब ३३ करोड ९० लाख रुपैयाँ रहेको डिजिटल वालेटको कारोबार एक वर्षपछि अर्थात् गएको असारमा आइपुग्दा ६९ प्रतिशतले बढेर १२ अर्ब ७९ करोड पुगेको छ । जब कि यही अवधिमा मोबाइल बैंकिङको कारोबार १८ अर्ब ८३ करोड ९० लाखबाट ३०१ प्रतिशतले बृद्धि हुँदै ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ नाघेको तथ्यांकमा उल्लेख छ ।

क्यूआर कोड भुक्तानी विस्तारसँगै मोबाइल बैंकिङबाटै वालेटविना सबै किसिमका भुक्तानी सम्भव हुन थालेका छन् । जसले गर्दा डिजिटल वालेटलाई मोबाइल बैंकिङले छायाँमा पारेको हो ।

के हो मोबाइल बैंकिङ ?

बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल वा ट्याबलेटबाट नै बैँकिङ कारोबार गर्न सकिने गरी विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु बैँकिङ सेवाबाट वञ्चित हुन नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको छ ।

मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक मानिन्छ । बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण पनि यसको कारोबार बढेको हो । अझ कोरोना महामारीका कारण पनि मोबाइल र इन्टरनेट बैंकिङतर्फ प्रयोगकर्ताको आकर्षण बढ्दै गएको छ । प्रविधिको विकाससँगै सबैभन्दा नजिक रहेर बैंकिङ क्षेत्र अगाडि बढिरहेको छ ।

जसरी हामी मोबाइलबाटै कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंक तथा वित्तीय संस्थालाई नै जान्छ । प्रविधिको बैंकिङ पाटोलाई फिनटेक ९वित्तीय प्रविधि० को रुपमा चिन्ने गरिन्छ । फिनटेकलाई सँगै अगाडि बढाउन र त्यसको छुट्टै पहिचान दिन बैंकिङ तथा वित्तीय क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

यसरी मोबाइल बैंकिङ सेवा लोकप्रिय हुँदै गएसँगै डिजिटल वालेटको भविष्य के हुने भन्ने प्रश्न उब्जिन सुरु भएको हो । मोबाइल बैंकिङको बढ्दो प्रयोगले डिजिटल वालेटको विस्तार सुस्त बनाएको भए पनि ब्रेक भने लागिसकेको छैन ।

कारोबार रकममा अघिल्लो वर्ष नै पछि परेका वालेट अहिले आएर कारोबार संख्यामा समेत पछाडि देखिएका छन् । गएको वैशाख यता मोबाइल बैंकिङको कारोबार संख्याले डिजिटल वालेटको कारोबार संख्यालाई लगातार रुपमा पछाडि पारेको देखिन्छ ।