‘मार्जिन कर्जाबाट व्यवसाय गर्न चाहनेलाई राष्ट्र बैंकले तोकेको सीमाले प्रभाव पार्दैन’


Bankingkhabar /August 29, 2021

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मार्जिन प्रकृतिको कर्जाबाट व्यवसाय गर्न चाहनेलाई राष्ट्र बैंकले तोकेको ४ र १२ करोडको सीमाले प्रभाव नपार्ने प्रष्ट पार्नुभएको छ । शुक्रबार नाफिजले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उहाँले सेयर धितोमा कर्जा लिएर व्यवसाय गर्न पाउने बताउनुभयो । सेयर धितो राखेर सेयरमै लगानी गर्नेलाई मात्रै उक्त सीमा तोकिएको उहाँले प्रष्ट पार्नुभयो । गभर्नर अधिकारीले सेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा पाइने बताउनुभयो । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा कुनै व्यक्ति वा संस्थाले एउटा संस्थाबाट सेयर धितोमा बढीमा ४ करोड र समग्रमा १२ करोड रुपैयाँ कर्जा लिन पाउने नयाँ व्यवस्था गरेको थियो । उक्त व्यबस्थाले कुनैपनि व्यक्तिले अनलाइन व्यवसाय सञ्चालन गरिरहेको र कुनै कम्पनीको २० करोड बराबरको सेयर भएमा सेयर धितोमा मूल्यांकनअनुसार कर्जा उपयोग गर्नलाई बाधा नपार्ने बताइएको छ । गभर्नर अधिकारीले बैंकबाट कर्जा लिने अनि सेयर खरिद गर्ने, फेरि त्यो सेयर अर्को धितो राखेर ७० प्रतिशतसम्म कर्जा लिने र अर्को डिम्याटबाट कर्जा लिने प्रवृत्ति देखिएकाले उक्त सीमा कायम गरिएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले गरेको नीतिगत प्रयास कुनै विशेष व्यक्तिप्रति लक्षित नभइ सुधारका लागि भएको उल्लेख गर्नुभयो ।


सोसिअल मेडिया