
बैंकिङ खबर/ महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २१ वटा बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्तिमा आयकर छलेको पाइएको छ । कार्यालयले जारी गरेको प्रतिवदेनमा वित्तीय प्रतिवेदनमानमा प्राप्ति गर्ने कम्पनीले प्राप्ति हुने कम्पनीको पहिचान भएको सम्पत्तिहरू प्राप्ति गर्दा र त्यो कम्पनीको पहिचान भएको दायित्व स्वीकार गर्दा बजार मूल्यमा गर्नुपर्ने र पहिचान भएको सम्पत्तिमा स्वीकार गरेको दायित्व घटाई बाँकी खुद सम्पत्ति वापत दिएको साधारण शेयरको बजार मूल्यको आधारमा आउने फरक रकमलाई अवस्थाअनुसार सौदाबाजी गर्दाको लाभको रुपमा वा साखको रुपमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ ।
लेखामानको यो प्रावधानहरू विपरीत मर्जर/एक्वीजिसन गर्दा भएको लाभलाई प्राप्ति गर्ने कम्पनीले सोझै आफ्नो इक्विटीमा भएको परिवर्तन विवरणमा एक्वीजिसन रिजर्भ, जेनेरल रिजर्भ, क्यापिटल रिजर्भ लगायतका शीर्षकमा देखाएको प्रतिवेदनमा उल्लेख छ ।
कतिपय बैंकले नाफा नोक्सान खातामा नै देखाएको अवस्था रहेको प्रतिवेदनमा जनाइएको छ । बिजनेस कम्बिनेसनबाट प्राप्त भएको लाभलाई २१ बैंक तथा वित्तीय संस्थाले लाभ देखाई आयकर तिर्नुपर्नेमा त्यो नगरेकोले ती वाणिज्य बैंकहरूको लाभ उठाउन महालेखाले भनेको छ ।
यस्तो रकम १४ अर्ब ९३ करोड ३ लाख रुपैयाँ छ। यसको ३० प्रतिशतले कर तिर्नु पर्छ । त्यो भनेको ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ हुन्छ । यसमा शुल्क एवं ब्याज समेत छानबिन गरी कर निर्धारण एवं असुल गर्न महालेखाले निर्देशन दिएको छ ।