बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ६७।३४ प्रतिशत नेपालीहरुको पहुँचमा बैंक पुगेको बताएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । क’, ख’ र ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा यो अध्ययन प्रतिवेदन तयार पारिएको हो। यस बैंकबाट इजाजतप्राप्त क’, ख’ र ग’ वर्गका संस्थाको शाखा संख्या २०७८ चैत मसान्तमा ५ हजार ९ सय ७८ पुगेको उल्लेख छ । ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ । २०७७ जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेका छन् । तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९ सय ९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १ हजार ३ सय १४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६ सय ८७ खाता रहेका छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १ हजार ८ सय २ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४ सय ५८ खाता रहेका छन् । महानगरमा प्रतिहजार व्यक्ति ३ हजार २ सय ९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २ सय ५१ खाता रहेका छन्। कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन् । पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् । ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ । प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत रहेको छ । व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्ति (पन्ध्र वर्षभन्दा माथि) को रहेको छ । प्रति एक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।