August 16th, 2021

लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन सहकारीहरुलाई अर्थमन्त्रीको आग्रह


बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ औँ स्थापना दिवसमा उद्घाटन मन्तव्य दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले सोध्नुभयो “तपाईहरुको लगानी के मा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।” उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह गर्नुभयो ।
“तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु ।” मन्त्री शर्माले भन्नुभयो “तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिवी निवारणमा सहयोग गर्नुस् ।” सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको सुन्नमा आएको भन्दै उहाँले त्यसलाई घटाउनुपर्ने बताउनुभयो । कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटनाहरु देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]