२०७३ भाद्र १० गते

रेमिट्यान्समा अर्को झट्का : युएईले पनि नेपालीको ठाउँमा बंगाली लैजाने 

केही महिनाअघि मलेसियाले विदेशी कामदार लिन बन्द गरेपछि त्यसको असर रेमिट्यान्समा देखिन थालिसकेको थियो । तर केही हप्ताअघि मलेसियाले विदेशी कामदार लिने भएपछि पुनः रेमिट्यान्स आप्रवाहले ‘पिकअप’ लिने प्रक्षेपण भईरहेका बेला संयुक्त अरब इमिरेट्स (युएइ)ले नेपाललाई झट्का लाग्ने एक सम्झौता गरेको छ । उसले पनि बंगलादेशी कामदार लिने गरी बंगलादेशसंग सैद्धान्तिक सहमति जनाएको हो । साउदी अरेबियाले बंगलादेशी कामदार लिन थाले लगत्तै युएइले पनि बंगलादेशीलाई श्रम भिसा दिने भएको हो ।  

बंगलादेशका वैदेशिक रोजगारमन्त्री नुरअल इस्लाम र युएइका मानव संसाधन मन्त्रालयका सल्लाहकार एलेक्स जम्मामीबीच बंगलादेशी कामदारमाथिको प्रतिवन्ध हटाउने अनौपचारिक समझदारी भएको प्राथोम म्यागाजिनले जनाएको छ । download
कोलम्बो प्रोसेसको बैठकमा भाग लिन श्रीलंकामा रहेका उनीहरुले बंगलादेशी कामदारलाई फेरि युएइमा रोजगारीको अवसर दिने द्विपक्षीय समझदारी गरेका हुन् । 

यो सम्झौताले नेपाली कामदारहरुलाई प्रत्यक्ष प्रभाव पार्ने बताइएको छ । किन भने युएइ नेपाली कामदारको पनि प्रमुख रोजगार गन्तब्य हो । युएइले हालसम्म खासगरि नेपालसहित भारत, थाइलेण्ड, फिलिपिन्स, चीन, भियतनाम, पाकिस्तानबाट मात्रै कामदार लिँदै आएको थियो ।

यसअघि मलेसियाले पनि गतवर्ष बंगलादशेबाट ठूलो संख्यामा कामदार लिने सहमति गरेको थियो । 
मलेसिया र साउदीमा कच्चा तेलको मूल्यको गिरावटका कारण आर्थिक मन्दी छाइरहेको समयमा युएइले बंगलादेशी कामदार लगे नेपालीको चौथो प्रमुख गन्तब्य युएइमा पनि नेपालीको माग घट्नेछ । पछिल्लो समयमा खाडी राष्ट्रमा छाएको आर्थिक मन्दीले नेपालीका श्रम बजारहरु धरासायी हुँदै गएका छन् ।

युएइ, साउदी र मलेसियाले बंगलादेशी कामदार लिन थालेपछि नेपालीहरु अवसर स्वतः कटौति हुने देखिएको छ । जसका कारण अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स आयातमा ठूलो प्रभाव पर्न सक्ने सरोकारवालाले बताएका छन् ।