बैंकिङ कसुरः धमाधम पक्राउ पर्दै फरार प्रतिवादी


बैंकिङ खबर/पछिल्लो केहि दिनयता बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ पर्ने क्रम बढेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार सोमबार एकै दिन तीन अभियुक्त पक्राउ परेका छन् । सोमबार पैसा नभएको बैंकको चेक काटेर दिने पेप्सीकोलाकी पवित्रा श्रेष्ठ पक्राउ परेकी छिन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले साउन ४ गते पेप्सीकोलाबाट पक्राउ गरेको हो । ४४ वर्षीय श्रेष्ठले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७७÷१२÷१ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् ।
उनलाई अदालतले १४ लाख जरिवाना र ३ दिनको जेल सजाए सुनाएको थियो । यसअघि व्यूरोले सोमबार नै बैंकिङ कसुर मुद्धा दोषी ठहर भइ फरार दुई अभियुक्तलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–२ बस्ने ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका–२२ घर भई सोही महानगरपालिका–१३ बस्ने ६३ वर्षीय देव नारायण महर्जन रहेका छन् । उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका मिलनलाई टोखाबाट र ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका देव नारायणलाई कलंकीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दा जान्दै पीडितहरूलाई नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका विभिन्न रकमका चेकहरु काटेर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भई उच्च अदालतले उक्त फैसला गरेको थियो ।
व्यूरोले अदालतबाट दोषी भएका तथा खोजी भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर खोजिरहेको जनाएको छ ।

के हो बैंकिङ कसुर ?
कानुनी व्यवस्थाविपरीत बैंक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैंकिङ कसुरका रूपमा लिइन्छ । विद्यमान कानुनी व्यवस्थाअनुसार अनधिकृत रूपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनधिकृत रूपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खातको विवरण अर्को व्यक्ति वा संस्थालाई दिने, धितोको अस्वाभाविक मूल्यांकन गरी ऋण लिने तथा दिने काम बैंकिङ कसुरभित्र पर्छन् ।

के छ कानुनमा ?
बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन, २०६४ को दफा ३ मा अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने उल्लेख छ । ऐनमा व्यवस्था छ–
कसैले पनि बैंक वा वित्तीय संस्थामा खाता खोल्दा वा रकम भुक्तानी माग गर्दा देहायको कार्य गर्न हुँदैन–
(क) नक्कली कागजात पेस गरी खाता खोल्न वा त्यस्तो कागजात पेस गरी खाता खोल्न लागेको छ भन्ने जानी जानी खाता खोलिदिन वा त्यस्तो खातामा रकम जम्मा गर्न, गराउन वा त्यस्तो खाताबाट रकम निकाल्न वा सो कार्यमा सहयोग गर्न वा त्यसरी खाता खोली विद्युतीय कार्ड वा उपकरणको प्रयोग गरी रकम निकाल्न हुँदैन ।
(ख) कानुनबमोजिमबाहेक काल्पनिक वा अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्न वा खाता खोलिदिन हुँदैन ।
(ग) आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन हुँदैन ।

दफा ५ मा अनधिकृत रूपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने उल्लेख छ । कसैले पनि बैंक वा वित्तीय संस्थामा रहेको खाताबाट रकम निकाल्दा वा भुक्तानी दिँदा देहायको कार्य गर्न नहुने ऐनले बताएको छ–
– अनधिकृत रूपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्न (ऐनको ५, क),
– अनधिकृत रूपमा ग्राहकको खाताबाट रकम रकमान्तर गर्न वा नगद भुक्तानी दिन (ऐनको ५, ग) ।

दफा ६ मा विद्युतीय माध्यमको दुरूपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने उल्लेख छ । यसमा कसैले पनि क्रेडिट कार्ड, डेबिट कार्ड, अटोमेटेड टेलर मेसिन (एटिएम) कार्ड वा अन्य विद्युतीय माध्यमको दुरूपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने उल्लेख छ ।

दफा ७ मा अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने व्यवस्था छ । यस दफाअनुसार कसैले पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा लिँदा वा दिँदा देहायको कार्य गर्नुहुँदैन–
(क) गलत, झुट्टा वा नरहे÷नभएको वित्तीय विवरण पेस गरी वा कृत्रिम व्यवसाय खडा गरी कर्जा लिन वा दिन,
(ख) धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी कर्जा लिन वा दिन,
(ग) झुट्टा विवरणका आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई बढी कर्जा लिन वा दिन,
(घ) आफूलाई प्राप्त भएको अख्तियारी वा स्वीकृत सीमाभन्दा बाहिर गई कर्जा, सुविधा वा सहुलियत प्राप्त गर्न वा उपलब्ध गराउन,
(घ) (१) बैंक वा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीले सो बैंक वा वित्तीय संस्थाको प्रचलित कर्मचारी प्रशासनसम्बन्धी विनियमावली वा प्रचलित कर्मचारी सापटी वा सुविधासम्बन्धी विनियमावलीबमोजिम पाउने कर्मचारी सुविधाअन्तर्गतको कर्जा वा सापटीबाहेक अन्यतवरले आफ्नो बैंक वा वित्तीय संस्थाबाट कर्जा वा सापटी लिन,
(घ) (२) बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानुनबमोजिम वित्तीय स्वार्थ रहेको मानिने शेयरधनी वा त्यस्तो व्यक्तिको परिवारका सदस्यले आफ्नो बैंक वा वित्तीय संस्थाबाट कर्जा लिन,
तर, मुद्दती रसिद, सुन वा सरकारी ऋणपत्रको सुरक्षणमा कर्जा लिन उल्लिखित व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।
(ङ) कुनै एक बैंक वा वित्तीय संस्थालाई एकपटक दिइसकेको सुरक्षण रीतपूर्वक फुकुवा नभई सोही सुरक्षण अर्को बैंक वा वित्तीय संस्थामा राखी पुनः कर्जा लिन वा दिन,
तर, सुरक्षणको मूल्यले खामेको हदसम्म सहवित्तीयकरणसम्बन्धी प्रचलित कानुनबमोजिम दोस्रो हक कायम (पारिपासु) हुने गरी कर्जा दिन वा लिन यो बन्देज लागू हुने छैन ।
(च) मा व्यवसाय सञ्चालन गर्न सक्ने वित्तीय हैसियत नभएको वा आपूmले अनुचित प्रभाव पार्न सक्ने व्यक्तिको नाममा संस्था संस्थापना गराई त्यस्तो संस्थामार्फत वा नक्कली ऋणी खडा गरी त्यस्तो ऋणीमार्फत कर्जा लिन वा त्यस्तो कुरा जानी जानी कर्जा दिन वा कर्जा लिने वा दिने कार्य गर्न वा गराउन,
(छ) ग्राहकको कारोबारको तुलनामा आवश्यकताभन्दा बढी कर्जा दिन,
(ज) कर्जा सुविधा उपलब्ध गराएबापत कुनै किसिमको अनुचित लाभ लिन वा दिन ।
(झ) बैंक वा वित्तीय संस्थाका संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्न अख्तियारप्राप्त व्यक्तिले आफूले समेत ऋण सुविधा उपभोग गर्ने मनसायले नक्कली ऋणी खडा गरी त्यस्तो ऋणको पुरै वा आंशिक रकमको भुक्तानी लिन वा दिन,
(ञ) मा बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्न अख्तियारप्राप्त व्यक्तिले आफ्नो वित्तीय स्वार्थ गाँसिएको कुनै व्यक्ति वा संस्थाको नाममा कुनै प्रकारको ऋण प्रवाह गर्न ।

दफा ८ मा कर्जाको दुरूपयोग गर्न नहुने उल्लेख छ । यसअन्तर्गत कसैले पनि बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरूपयोग गर्नु वा गराउनु नहुने व्यवस्था छ ।

दफा ९ मा बैंकिङ स्रोत, साधन र सम्पत्तिको दुरूपयोग गर्न नहुने उल्लेख छ । यस दफाअन्तर्गत बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानुनबमोजिम वित्तीय स्वार्थ रहेको मानिने सेयरधनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, मेनेजिङ एजेन्ट वा सम्बद्ध व्यक्ति वा संस्था वा त्यस्तो व्यक्तिका परिवारका सदस्यले बैंक वा वित्तीय संस्थाबाट सुविधा लिई वा अन्य कुनै तरिकाले बैंक वा वित्तीय संस्थाको स्रोत र साधनको दुरूपयोग गर्न नहुने प्रावधान छ ।

दफा १० मा ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउने स्पष्ट व्यवस्था छ ।

दफा ११ मा ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी ऋण वा सुविधा रोक्न नहुने उल्लेख छ ।

दफा १२ मा कागजात वा खाता बही सच्याई किर्ते वा जालसाजी गरी हानि–नोक्सानी पुर्‍याउन नहुने उल्लेख छ ।

दफा १२ (क) मा बैंक तथा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई झुक्याई काम/कारोबार गर्न नहुने उल्लेख छ ।

दफा १३ मा बढी, कम वा गलत मूल्यांकन तथा वित्तीय विवरण तयार गर्न नहुने उल्लेख छ ।

कति हुन्छ सजाय ?
ऐनको व्यवस्थाअनुसार बैंकिङ कसुरको मात्राअनुसार बिगो भएको अवस्थामा एक वर्ष कैद, १० लाख रूपैयाँभन्दा बढी ५० लाख रूपैयाँसम्म बिगो भए एक वर्षदेखि दुई वर्षसम्म कैद र ५० लाख रूपैयाँभन्दा बढी एक करोडसम्म बिगो भए दुई वर्षदेखि तीन वर्षसम्म कैद र एक करोड रूपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि तीन वर्षदेखि पाँच वर्षसम्म कैद हुने प्रावधान छ ।


सोसिअल मेडिया