माघसम्म मुद्रास्फिति १० प्रतिशतसम्म पुग्नसक्छः राष्ट्र बैंक


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आगामी माघसम्म मुद्रास्फीति १० प्रतिशतको हाराहारीमा पुग्न सक्ने जनाएको छ । राष्ट्र बैंकले गरेको मुद्रास्फिति अपेक्षा सर्वेक्षणअनुसार मुद्रास्फितिको दरमा वृद्धि हुने उल्लेख छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) अनुसार केन्द्रीय बैंकलाई निर्दिष्ट गरेका उद्देश्यमध्ये मूल्य स्थिरता कायम राख्नु पनि एक रहेको उल्लेख गर्दै बैंकले मुद्रास्फीति दरलाई प्राथमिकतामा राखेर मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आएको जनाएको छ ।
मौद्रिक तथा गैरमौद्रिक तत्वबाहेक उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षाले पनि मुद्रास्फीतिलाई प्रभाव पार्ने बैंकको भनाइ छ ।
आम उपभोक्ताले गर्ने मुद्रास्फीतिसम्बन्धी अपेक्षालाई भविष्यमा हुनसक्ने वास्तविक मुद्रास्फीतिको एक प्रमुख सूचकका रुपमा लिइने तथ्य पेश गर्दै राष्ट्र बैंकले विश्वका धेरै जस्ता केन्द्रीय बैंकले मुद्रास्फीति प्रक्षेपण र मौद्रिक नीतिको कार्यदिशा तय गर्दा उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षालाई पनि एक आधारका रुपमा लिने गरेको बताएको छ ।
सहरी क्षेत्रका उपभोक्तामा मात्र गरिएको यस सर्वेक्षणको दायरालाई क्रमशः विस्तार गर्दै भविष्यमा क्रमशः ग्रामीण क्षेत्रमा बसोबास गर्ने उपभोक्ता, ट्रेड युनियन, आयातकर्ता, थोक बिक्रेता, उत्पादक, विज्ञ तथा उद्यमीको अनुमानलाई समेट्ने योजना रहेको केन्द्रीय बैंकले जनाएको छ ।
सर्वेक्षणमा सातै प्रदेशका प्रमुख शहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट उनीहरुको मुद्रास्फीतिसम्बन्धी अपेक्षा संकलन गरिएको छ । सर्वेक्षणअनुसार आगामी एक वर्षमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ९४ प्रतिशत छ ।

मुद्रास्फीति के हो ? 

सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

बजारमा मुद्राको परिमाणमा वृद्धि भएपछि सँगसँगै वस्तु तथा सेवाको उत्पादन वा आकृति बढेन भने मुद्राको क्रयशक्ति कम हुन्छ र यही अवस्थालाई मुद्रास्फीति भनिन्छ । अर्को शब्दमा वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य (क्रयशक्ति) घट्नु नै मुद्रास्फीति हो । यस्तो अवस्थामा वस्तु महँगो पर्ने भएकाले थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । सामान्यतयाः मुद्राको परिमाणमा वृद्धिले मात्र मुद्रास्फीतिको अवस्था नआउन सक्छ । यसको अर्थ मुद्राको परिमाणमा वृद्धिबाहेक अन्य विभिन्न कारणले पनि मुद्रास्फीति हुन सक्छ । जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ सोही वा सोभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा मुद्रास्फीति नहुन सक्छ । मुद्रास्फीतिको अवस्था त्यतिबेला मात्र सिर्जना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ ।

मुद्रास्फीतिका कारणः 

माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि)
मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ।

क) केन्द्रीय बैंकले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैंकहरूले सिर्जना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि ।
ख) घाटाको सरकारी वित्त व्यवस्था
ग) जनसङ्ख्या वृद्धि
घ) कर कटौती
ङ) वैदेशिक ऋण, लगानी, सहायता र विप्रेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सिर्जना हुन्छ)

लागत वृद्धि मुद्रास्फीति (उत्पादन लागतमा वृद्धि)  
उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सिर्जना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ः
क) पुँजी लागतमा वृद्धि
ख) कच्चापदार्थको मूल्यमा वृद्धि
ग) ब्याजदरमा वृद्धि
घ) ज्यालादरमा वृद्धि
ङ) प्राकृतिक प्रकोप आदि ।

लगानीकर्तामा मुद्रास्फीतिको प्रभाव : 

मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखिम लिन चाहँदैनन् । त्यस्तै धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।

मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोेत्साहित नहुन सक्छन् ।

सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।

 मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । त्यसैले, लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।

 


सोसिअल मेडिया