Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिले अर्थतन्त्रको आत्मविश्वास बढाउनेछः गभर्नर

२०७८ असार २५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले अर्थतन्त्रको आत्मविश्वास बढाउने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मौद्रिक नीतिका लागि दिएको सुझाव बुझ्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको २–३ गते ल्याउने तयारी गरेको छ। सोका लागि राष्ट्र बैंकले विभिन्न क्षेत्रसँग सुझाव मागिरहेको छ ।

सोही क्रममा सेजनका तर्फबाट गभर्नर अधिकारीलाई ३५ बुँदे सुझाव दिइएको हो । सेजनले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पुर्‍याएको भन्दै अर्थतन्त्रको पुनरत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ ।

“चालू आवको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”

राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाइरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ”, सेजनले भनेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरउत्थान गर्न मौद्रिक नीति सामु चुनौती थपिएको उल्लेख गर्दै सेजनले वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत दिनुपर्ने परस्पर विरोधी विषयलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको स्मरण गराएको छ ।

गभर्नर अधिकारीले सेजनले यथार्थपरक सुझाव दिएको भन्दै उनले आगामी मौद्रिक नीतिका विषयमा विभिन्न सरोकारवालासँग राष्ट्र बैंकले छलफल गरिरहेको तथा चालू आवको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणलाई आत्मविश्वास मर्न नदिएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने खालको नै ल्याउने जानकारी दिए । “चालू वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौँ । हामीले सबै सरोकारवालासँग छलफल पनि गरिसकेका छौँ । उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नै कोसिस गर्नेछौँ”, उहाँले भन्नुभयो ।

सेजनका अध्यक्ष भीम गौतमले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र निलम ढुङ्गाना, कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकाललगायतको उपस्थिती थियो ।

 

Ad