
बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) को लाइसेन्सका लागि पुनः आवेदन खुलाउने तयारी गरेको छ । यसअघि बोर्डले दुई पटकसम्म आवेदन लिएर लाइसेन्स दिएको थिएन ।
नयाँ निर्देशिका जारी भएपछि त्यसैअनुसार लाइसेन्स दिने तयारी अघि बढाइएको हो । बोर्डले असार १५ गते कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्थासम्बन्धी निर्देशिका–२०७८ जारी गरेको थियो ।
हेर्नुहोस् निर्देशिकाको पूर्णपाठ
सरकारले आगामी आर्थिक वर्षको बजेटमा कमोडिटी एक्सचेन्ज सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । वस्तु विनिमय बजारसम्बन्धी ऐन–२०७४ र वस्तु विनिमय बजारसम्बन्धी नियमावली–२०७४ जारी भए पनि एक्सचेन्ज स्थापना गर्ने भन्दै बोर्डले दुई पटक आवेदन मागेको थियो ।
पछिल्लो पटक २०७६ वैशाखमा आवेदन खुल्ला गर्दा ६ कम्पनीले आवेदन दिएको थिए । बोर्डमा मर्केन्टाइल एक्सचेन्ज, कमोडिटी फ्युचर एक्सचेन्ज, मल्टि डेरिभेटिभ एक्सचेन्ज, राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज र नेशनल कमोडिटी डेरिभेटिभ एक्सचेन्ज र नेपाल डेरिभेटिभ एक्सचेन्ज गरी ६ कम्पनीले आवेदन दिएका थिए ।
पहिला दुईवटा कम्पनीलाई मात्र लाइसेन्स दिने गरी प्रक्रिया अघि बढाइए पनि अब मापदण्ड पूरा गर्ने सबै कम्पनीलाई प्रदान गरिने बोर्डले जनाएको छ । निर्देशिकामा एक्सचेन्ज सञ्चालनका लागि ऐनमा तोकिएको भन्दा पुँजी बढाउनका साथै कारोबार गर्ने वस्तुका आधारमा पुँजी तोेकेको छ । जसअनुसार कपास, अलैँची, जिरा, खुर्सानी, मरिच, काजु, सुपारी, मुसुरो, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सुर्ती, जुट, अदुवा, बेसार, फलफूल तथा सोबाट निर्मित जुसलगायतका कृषिजन्य उत्पादन, नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल, आलसको तेल तथा चिनी, सख्खर, चिया, कफी, अन्डा, जडिबुटीलगायत वस्तुको कारोबार गर्ने एक्सचेन्जको पुँजी १ अर्ब ५० करोड हुनुपर्नेछ ।
यसैगरी आल्मुनियम, तामा, सिसा, निकल, टिन, पित्तल, फलाम, स्टिलजस्ता धातुजन्य वस्तु जिंकधातुजन्य वस्तु आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंकका साथै बहुमूल्य धातु जस्तै, सुन, चाँदी, प्लाटिनम र खनिज तेलजन्य वस्तु जस्तै, कच्चा तेल, पेट्रोलियन पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल कारोबार गर्ने एक्सचेन्जको पुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरिएको छ ।
वस्तु विनिमय बजारसम्बन्धी ऐन–२०७४ एक्सचेन्ज सञ्चालन गर्नका लागि न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ तोकिएको थियो । ऐनले पुँजी तोक्ने अधिकार बोर्डलाई दिएकाले निर्देशिका जारी गरी पुँजी बढाएको हो ।
यसैगरी निर्देशिकामा बजार सञ्चालन गर्ने वैदेशिक रणनीतिक साझेदार अथवा प्राविधिक सहयोग गर्ने कम्पनी भित्र्याउन सकिने र यस्ता साझेदारलाई कुल चुक्ता पुँजीको कम्तीमा पाँच प्रतिशतदेखि बढीमा ५१ प्रतिशतसम्म अनिवार्य रूपमा सेयर लगानी गर्ने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ । तर, संस्थापकहरूले बैंक, वित्तीय संस्थालगायतबाट ऋण सापटी प्राप्त गरेको रकमबाट कम्पनीमा लगानी गर्ने नपाइने प्रावधान छ ।
के हो कमोडिटी एक्सचेन्ज ? किन र कसरी गर्ने लगानी ?
कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ ।
यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुहरूको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ । यो प्रणालीमा वस्तुहरूको कारोबार करारपत्र बनाई गरिन्छ । यस्तो करार सूचीकरण गरी कारोबार गर्ने गराउने एक्सचेञ्जहरूलाई कमोडिटीज एक्सचेञ्ज भनिन्छ ।
नेपालको हकमा हालसम्म स्थापित सबै कमोडिटीज एक्सचेञ्जहरूले कृषिउपज, धातु तथा ऊर्जाको करारमा कारोबार गर्दै गराउँदै आएका छन् । अहिले चलनचल्तीमा यस्ता करारका चार प्रकार प्रमुख छन् स् फरवार्ड, फ्युचर्स, अप्सन र स्वाप । हाल नेपालको कमोडिटीज एक्सचेञ्जमा भने फ्युचर्समा मात्र कारोबार हुने गरेको छ । नेपालको कमोडिटी बजारमा उपयोग हुने मूल्य अमेरिकी डलर र भारतीय रूपैयाँलाई आधार मानेर तय हुने गरेको छ ।
के हो कमोडिटी एक्सचेन्ज ?
कमोडिटी एक्सचेञ्ज विभिन्न वस्तुहरूको खरीदबिक्री गर्ने ठाउँ हो । कमोडिटी बजारमा वस्तुको स्वामित्व एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नेमात्र नभएर भौतिकरूपमा पनि वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा सारिन्छ । अहिले भौतिक वस्तुको उपस्थितिबिना पनि त्यस्ता वस्तुको स्वामित्व मात्र खरीद बिक्री हुन थालेको छ ।
यो कारोबार संगठित कमोडिटीज एक्सचेञ्ज (वस्तु बजार)बाट हुनेगर्छ । स्वामित्वको मात्र खरीद बिक्री हुँदा वस्तु भने जहाँ थियो त्यहीँ (अर्थात गोदाममै) रहिरहन सक्छ । वस्तुको स्वामित्व जनाउने कागजको मात्र खरीद बिक्री हुन्छ ।
यसरी हेर्दा कमोडिटी बजार जग्गाको खरीद बिक्री जस्तै हुन्छ । तसर्थ, यस्ता वस्तुहरू (जसलाई कमोडिटीज भनिन्छ)मा पनि शेयर वा जग्गामा जस्तै लगानी गर्न सकिन्छ । यसकारण संगठित कमोडिटी एक्सचेञ्जलाई स्टक एक्सचेञ्ज जस्तै पूूँजीबजारको एक अंगको रूपमा लिने गरिन्छ ।
नेपालमा कमोडिटीज एण्ड मेटल एक्सचेञ्ज नेपाल
नेपालमा कमोडिटी बजारको शुरूआत भएको दशकौं भए पनि औपचारिकरूपमा करीब सात वर्षअघिदेखि मात्र भएको हो । कमोडिटी एण्ड मेटल एक्सचेञ्ज नेपाल (कोमेन)को स्थापनासँगै १४ डिसेम्बर सन् २००६ बाट यसको औपचारिक शुरुवात भएको हो ।
(कोमेन), मर्कण्टाइल एक्स्चेञ्ज नेपाल (मेक्स), नेपाल डेरिभेटिभ एक्सचेञ्ज (एनडेक्स), वेल्थ एक्स्चेञ्ज प्रालि (वेक्स), कमोडिटी फ्युचर एक्सचेञ्ज (सीएफएक्स), एसियन डेरिभेटिभ एक्सचेञ्ज (एडिएक्स), डेरिभेटिभ एण्ड कमोडिटी एक्सचेञ्ज(डीसीएक्स),एभरेष्ट कमोडिटी एक्सचेञ्ज (ईसीएक्स) र आरसीडीएक्स गरी नौवटा कमोडिटीज एक्स्चेञ्ज कम्पनी सञ्चालनमा छन् । केही कम्पनी सञ्चालनको तयारीमा रहेको बुझिएको छ । यसैगरी बजारमा करीब दुई सय कमोडिटी ब्रोकर कम्पनी रहे पनि करीब ४०/५० ब्रोकर कम्पनीमात्र सक्रियरूपमा सञ्चालनमा रहेका छन् ।
अहिले सबै एक्सचेञ्जमा गरेर करीब २५ वटा कमोडिटीहरूका कण्ट्रयाक्टको किनबेच हुने गरेको छ । करीव ३/४ वर्षअघि २० हजार लगानीकर्ता रहेको यो बजारमा हाल करीब ४० देखि ५० जना मात्र रहेको बताइन्छ । यथाशीघ्र नियमन शुरू हुन नसकेमा आउँदा दिनमा लगानीकर्ताको संख्या अझै घट्ने छ ।
कमोडिटी फ्युचर्समा लगानी कसरी गर्ने ?
फ्युचर्स कन्ट्राक्टमा लगानी गर्न कमोडिटीज फयुचर्स एक्सचेञ्जको ब्रोकर फर्ममा गएर खाता खोल्नुपर्छ । खाता खोल्दा ब्रोकरले ग्राहकलाई फ्युचर्स कारोबारमा नोक्सानी हुन सक्ने कारोबारबारे आफू जानकार रहेको उद्घोष गरेको कागजमा हस्ताक्षर गर्न लगाउन सक्छ । यसरी खोलिएको खातामा तोकिएको रकम जम्मा गर्नुपर्छ ।
त्यो रकम कमोडिटी, ब्रोकर वा एक्सचेञ्जको नियमअनुसार कम वा धेरै हुन सक्छ । कन्ट्राक्टको बजार मूल्य बढ्यो भने तपाइँको खाताको मूल्य बढ्छ भने कन्ट्राक्टको मूल्य घट्दा खाताको मूल्य पनि घट्छ । कन्ट्राक्टको मूल्य घट्यो भने तपाइँलाई ब्रोकरले ‘मार्जिन कल’ पठाउँछ ।
मार्जिन कलपछि तपाइँले आफ्नो खातामा रकम थप्नुपर्छ । रकम थप्न नसकेमा तपाइँको स्थान रद्द हुन्छ । तपाइँले पहिले जम्मा गरेको रकम गुम्न पुग्छ । समग्रमा, कमोडिटी मार्केटमा लगानी गर्दा यी कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ :
- कमोडिटी फ्युचर्स कारोबार गर्दा सतर्कता अपनाउने ।
- विज्ञहरुको सल्लाह सुझावलाई बराबर महत्व दिने ।
- विभिन्न वेबसाइटमा भएका लगानी मन्त्रका बारेमा सचेत रहने ।
- आधिकारिक वेबसाइट, टेलिभिजन मात्र प्रयोग गर्ने ।
- जथाभावी आउने इमेलका बारेमा सचेत रहने ।
- सल्लाह सुझाव दिने क्लियरिङ मेम्बर, ब्रोकरमा विश्लेषणको वास्तविकताको जाँच गर्ने ।
- आफूले लिने जोखिमको मात्राको निर्धारण गर्ने ।
- नाफा बुक गर्ने र सँधै अगाडि रहने ।
आफूसँग केके चाहिन्छ ?
कमोडिटी बजारमा लगानी गर्न तपाइँसँग लगानी गर्ने रकमका साथै कम्प्युटर र इन्टरनेट कनेक्सन हुनुपर्छ । कमोडिटी बजारको बारेमा राम्रो जानकारी पनि हुनुपर्छ । यसका लागि विभिन्न पुस्तक, तालिम र वेबसाइट सहयोगी हुन सक्छन् ।
कमोडीटी फ्युचर्सको विश्व इतिहास
कमोडिटीमा फ्युचर्स कारोबार प्राचीन दार्श्निक थेल्सले शुरू गरेको पाइन्छ । थेल्सले एउटा यस्तो विशेष सूत्र विकास गरेका थिए, जसको सहायताले सो समयमा जैतूनको भविष्यको मूल्य अनुमान गरेर त्यसमा लगानी गरी मुनाफा आर्जन गरेका थिए ।
यसलाई दार्शनिक ‘एरिस्टोटल’ ले आफ्नो पुस्तक ‘पोलिटिक्स’ मा समेत उल्लेख गरेका छन् । तर पहिलो आधुनिक कमोडिटी फ्युचर्स एक्सचेञ्ज जापानको ओसाकामा रहेको ‘डोजिमा राइस एक्सचेञ्ज’लाई मान्ने गरिएको छ । त्यसपछि अमेरिकामा सन् १८४८ मा ‘सिकागो बोर्ड अफ ट्रेड’ (सीबीओटी) स्थापना भएको थियो ।
अहिले सबैभन्दा ठूलो कमोडिटी फ्युचर्स एक्सचेञ्जमा ‘सिकागो मर्कण्टाइल एक्सचेञ्ज’ पर्छ । सिकागो मर्कण्टाइल एक्सचेञ्ज सन् १९१९ मा स्थापना भएको हो । सन् १९७० को दशकमा आएर कमोडिटी डेरिभेटिभमा पनि कारोवार शुरू भयो । १९७० को दशकबाटै कमोडिटीको कारोबारमा उच्च प्रविधिको प्रयोग बढ्न थालेको हो ।
हाल विश्वभर कमोडिटी कारोबार अत्याधुनिक कम्प्युटरबाट स्वचालितरुपमा इण्टरनेटबाट हुने गर्छ । भविष्यको कुनै निश्चित समयमा वस्तु तथा सम्पत्ति हस्तान्तरण गर्ने गरी वा नगदै हिसाबकिताब गर्ने गरी आजै मूल्य तोकेर गरिएका सम्झौतालाई डेरिभेटिभ भनिन्छ । यस्ता सम्झौताहरू वस्तु तथा सम्पत्ति किनबेच गर्नमात्र नगरी अन्य वित्तीय सम्पत्तिहरू जस्तै शेयर, ऋणपत्र, ब्याज घरजग्गा आदि हस्तान्तरण वा किनबेच गर्न पनि गरिन्छ ।