
बैंकिङ खबर/कृषि विकास बैंक लि. र निजामति अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट संचालन गर्ने सम्वन्धमा बुधबार एक समारोहकाबीच सम्झौता भएको छ । आगामी दश वर्षका लागी भएको उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायज्यूले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन देशको ७७ जिल्लामा एक्सटेन्सन काउण्टर समेत गरी २८० वटा शाखा संजाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारको क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ्ग सेवा संचालन गर्ने लक्ष्य सहित आगामी श्रावण महिना देखि उल्लेखित सेवा संचालन गर्ने भएको छ । अस्पतालको विलिङ्ग काउन्टर बैकले संचालन गर्ने भएबाट अस्पतालको सो सेवा समेत अझै प्रभाकारी हुने विश्वास लिइएको छ ।
उक्त सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख गिरिधारी पौडेल, बागमति प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल,कृषि विकास बैंक लि. नयाँ बानेश्वर शाखाको प्रबन्धक रमेश रावल, गठाघरका प्रबन्धक खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
अस्पतालको तर्फबाट लेखा शाखाका प्रमुख, चुडामणी गौतम, कर्मचारी यूनियनका प्रतिनिधी सन्तोष धिमाल, सचिव विनोद पोखरेल र अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन निजामति अस्पतालका उप–सचिव भोला चापागाईले गर्नु भएको थियो ।