
बैंकिङ खबर/ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो भएसँगै मंगलबारदेखि बैंक तथा वित्तीय क्षेत्र पनि पूर्ण रुपमा संचालनमा आएको छ । कोरोनाका कारण सन्त्रासमा रहेको बैंक तथा वित्तीय क्षेत्र आंपशक रुपमा संचालनमा थियो । कतै कम कर्मचारी परिचालन गरिएको थियो भने कतै कम समयका लागि शाखा संचालन गरिएको थियो । संचालनका हिसावले मंतलबारबाट बैंक तथा वित्तीय क्षेज्ञ बैशाख १६ भन्दा अघिको अबस्थामा फर्केको छ । सबैजसो बैंक तथा वित्तले कोरोना संक्रमण बाहेक सबै कर्मचारीलाई कार्यालय बोलाएका छन् ।
कोभिडको प्रभाव
कोरोना भाइरसको दोस्रो लहरसँगै अन्य क्षेत्रहरु जस्तै बैंक तथा वित्तीय क्षेत्रहरु पनि प्रभावित भएका छन् । निषेधाज्ञामा काठमाडौं उपत्यकासहित देशभरका बैंक तथा वित्तीय संस्थाहरु पूर्ण तथा आंशिक रुपमा बन्द भए । कोरोनाको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सीमित कर्मचारी राखेर सेवा प्रवाह गरिएको थियो भने केहि समयपछि बैंक तथा वित्तीय संस्थाहरु सीमित शाखा खोलेर सञ्चालनमा आए । जिल्ला तहमा भने जिल्ला प्रशासन कार्यालयको आदेशको परिधिमा रहेर सेवा दिएका थिए ।
काठमाडौंमा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था गरिएको थियो । कोरोनाको दोस्रो लहरले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार पनि संक्रमित हुन पुगे ।
नेपाल राष्ट्र बैंकका अनुसार कोरोनाको दोस्रो लहरका कारण कर्मचारी र उनीहरुका परिवार गरी ८ हजार ६ सय भन्दा बढी संक्रमित हुन पुगे ।
यस्तै कोरोना संक्रमणबाट बैंक, वित्तका कर्मचारी र उनीहरुका परिवार गरी १ सय २६ भन्दा बढीको मृत्यु भइ सकेको छ । कोरोना महामारीलाई मध्येनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सावधानी अपनाउन समेत निर्देशन दिएको थियो ।
सरकारले निषेधाज्ञा खुकुलो बनाएपनि कोरोनाको जोखिम भने घटेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार मात्रै थप २६२२ कोरोना संक्रमित थपिएका छन् । भने सोमबार मात्रै २३ जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा थप ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये सोमबार काठमाडौंमा ३ सय ७८, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जना संक्रमित थपिएका छन् । हाल काठमाडौं उपत्यकामा ७७२३ सक्रिय संक्रमित छन् । यसैगरी, काठमाडौंमा ५०९१, भक्तपुरमा १०४५ र ललितपुरमा १५८७ सक्रिय संक्रमित छन् । यसरी काठमाडौं उपत्यकासहित देशभर कोरोनाको जोखिम कायमै रहेकाले बैंक तथा वित्तीय संस्थाले पनि सावधानी भने अपआउनुपर्ने देखिन्छ ।