Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पुनरकर्जा लिँदै हुनुहन्छ ? यस्तो छ : संशोधित नयाँ प्रक्रिया

२०७८ असार १३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ । राष्ट्र बैंकले कार्यविधि संशोधन गरि ’नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७, दोस्रो संशोधन सहित’ लागु गरेको हो ।

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनरकर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ । कार्यविधि संशोधनसँगै अब हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यमरव्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न तथा दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनाहरुमा पुनरकर्जा प्रदान गर्न बाटो खुलेको छ ।

पुनरकर्जा प्रदान गर्ने प्रक्रिया

पुनरकर्जा प्रदान गर्ने प्रक्रियाः इजाजतपत्रप्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले देहाय बमोजिमको प्रक्रियाबाट पुनरकर्जा प्रदान गर्नेछ ।

(१) प्रतिग्राहक रु १५ लाख सम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, रु ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूलाई एकमुष्ट रूपमा प्रदान गरिनेछ ।

(२) बुँदा नं.१ बमोजिमका पुनरकर्जाहरू प्रदान गर्दा देहाय बमोजिमको प्रक्रिया अवलम्बन गरिनेछ ।

(क) एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जाको लागि बैंकले इजाजतपत्रप्राप्त संस्थाहरूबाट आवेदन आह्वान गर्नेछ ।

(ख) उक्त आह्वानमा तोकिएको समयावधि भित्रमा इजाजतपत्रप्राप्त संस्थाले आफ्ना प्रत्येक शाखाहरूबाट लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनरकर्जा पाउने ऋणीका लागि प्रतिशाखा न्यूनतम पाँच ग्राहकले सुविधा पाउनेगरी अनुसूची– १ मा उल्लिखित विवरण समावेश गरी निवेदन पेश गर्न सक्नेछन् ।

(ग) एकमुष्ट पुनरकर्जाको लागि निवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र बैंकले पुनरकर्जा सम्बन्धी निर्णय गर्नेछ । यसरी पुनरकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिकरूपमा पुनरकर्जा स्वीकृत गर्न सकिनेछ ।

(घ) एकमुष्ट पुनरकर्जा स्वीकृत भएपछि सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा सो रकमको प्रवाह बजारको अवस्था, इजाजतपत्रप्राप्त संस्थाको तरलताको अवस्था आदिलाई दृष्टिगत गरी विभिन्न समय–अन्तरालमा अलग अलग किस्तामा उपलब्ध गराउने गरी वितरणको तालिका बनाई सोही अनुसार प्रवाह हुनेछ ।

(ङ) स्वीकृत पुनरकर्जा रकम भुक्तानी हुनुअघि इजाजतपत्रप्राप्त संस्थाको अख्तियार प्राप्त
अधिकारीले आवश्यक कागजात सहित तमसुक (अनुसूची–२) लगायतका सम्बन्धित कागजातमा हस्ताक्षर गर्नुपर्नेछ । यस्तो अख्तियारी इजाजतपत्रप्राप्त संस्थाको प्रमुख कर्जा अधिकृत वा सो भन्दा माथिल्लो स्तरको कर्मचारीलाई प्रदान भएको हुनुपर्नेछ ।

(च) तमसुकको प्रक्रिया सम्पन्न भई इजाजतपत्रप्राप्त संस्थाले भुक्तानी प्राप्त गरे पश्चातसम्बन्धित सबै ग्राहकलाई पुनरकर्जा बापत प्रदान गर्नुपर्ने ब्याजदर सुविधा पुनरकर्जा अवधिभर प्रदान गर्नुपर्नेछ ।

(३) इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा देहायको प्रक्रिया अवलम्बन गरी पुनरकर्जा उपलब्ध गराइने छ ।

(क) पुनरकर्जाको लागि बैंकले इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूवाट आवेदन आह्वान गर्नेछ ।

(ख) उक्त आह्वानमा तोकिएको समयावधि भित्र पुनरकर्जा आवश्यक पर्ने इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले अनुसूची–१क अनुसारको निवेदन पेश गर्न सक्नेछन् ।

(ग) एकमुष्ट पुनरकर्जाको लागि निवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र बैंकले पुनरकर्जा सम्बन्धी निर्णय गर्नेछ । यसरी पुनरकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्न सकिनेछ ।

(घ) एकमुष्ट पुनरकर्जा स्वीकृत भएपछि सम्बन्धित इजाजतपत्रप्राप्त ‘घ’ वर्गका संस्थामा सो रकमको प्रवाह, बजारको अवस्था, संस्थाको तरलताको अवस्था आदिलाई दृष्टिगत गरी एकै पटक वा विभिन्न समय–अन्तरालमा अलग अलग किस्तामा प्रवाह गर्न सकिनेछ ।

(ङ) बैंकबाट स्वीकृत रकम भुक्तानी हुनुअघि सम्बन्धित इजाजतपत्रप्राप्त ‘घ’ वर्गका संस्थाले बैंक समक्ष आवश्यक कागजात सहित तमसुक (अनुसूची–२क) लगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ ।

(च) इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको अख्तियार प्राप्त अधिकारीले तमसुक लगायतका सम्बन्धित कागजातमा हस्ताक्षर गर्नुपर्नेछ । यस्तो अख्तियारी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका संस्थाको प्रमुख कर्जा अधिकृत वा सो भन्दा माथिल्लो स्तरको कर्मचारीलाई प्रदान भएको हुनुपर्नेछ ।

(छ) तमसुकको प्रक्रिया सम्पन्न भई इजाजतपत्रप्राप्त संस्थाले भुक्तानी प्राप्त गरे पश्चात यस्तो पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पूर्ण ऋणीको व्याजदर कम हुने गरी व्याजदरमा समायोजन गर्नुपर्नेछ ।

Ad