झापा बाहुनडाँगी–२ का गोविन्द न्यौपानेले तीन महिनाअघि ८५ हजार रुपैयाँ हालेर एउटा उन्नत जातको गाई किने । गाई निकै दुधालु थियो । एक साँझमा झण्डै ८ लिटर दूध दिन्थ्यो । न्यौपाने निकै उत्साहित थिए । तर ल्याएको केही दिनपछि गाई एक्कासि बिरामी पर्यो । उनले हतपत्त भेटेरेनरी डाक्टरलाई बोलाएर गाईको उपचार त गराए । तर उनले गाईलाई बचाउन सकेनन् । जिल्लाका सक्रिय सामाजिक अभियान्तासमेत रहेका न्यौपानेलाई पशुबीमाबारे पर्याप्त जानकारी थियो । कागजात तयार पारेर उनी गाईको बीमा गर्ने तयारीमा थिए । तर तयारी गर्दागर्दै गाई मर्यो । उनले भने ‘बेलैमा बीमा नगर्दा ठूला क्षति भयो ।’
न्यौपानेजस्तै झापाका कैयौँ किसानको पशु चौपायाहरु एक्कासि बिरामी पर्ने र मर्ने समस्या बढेपछि लाखाँै लगानी बर्सेनि डुबिरहेको छ । थाहा पाएर पनि बीमा गर्न ढिला हुँदा लगानी डुबाउने त छन् नै, तर बीमा बारे थाहै नपाएकाहरु त झन् चुलम्मै डुब्ने गरेका छन् ।
जिल्लाको पोपगाछी– ३ का किशोर उप्रतीलाई बीमा सुविधाबारे थाहा थिएन । उनले ७० हजार तिरेर इलाम एउटा गाई किनेर ल्याए । गाई ब्याउन २÷४ दिन बाँकी थियो । तर गाई ब्याउने बेलामा अचानक बिरामी भएर मर्यो । ‘गाई किन्दा गाउँको सहकारीबाट १५ प्रतिशत ब्याज लिएको ऋणको आधाभन्दा बढी तिर्न बाँकी छ ।’ उनले गुनासो पोखे, ‘तर त्याहाँबाट ऋण लिएर किनेको गाई जमिनमा गाडियो ।’ आफुलाई त्यतिबेला बीमाबारे केही थाहा नभएकाले ऋणमा डुब्नुपरेको उनी बताउँछन् । अहिले उनले फेरी तीनवटा गाई किनेर पालेका छन् । तर यो पटक उनले सजगता अपनाएर बेलैमा सबै गाईको बीमा गरेका छन् । ‘अब ढुक्क छुु, पहिले थाहा भएको भए नोक्सानि बेहोर्न पर्ने थिएन ।’ उनले भने ।
न्यौपाने र उप्रेतीजस्ता किसानले यस्तो पीडाको धेरै सामना गरे । तर विस्तारै झापाली किसान त्यस्तो समस्याप्रति निकै सजग देखिएका छन् । जसका कारण कुनै बेला झापामा सुस्त रहेको पशु बीमा कार्यक्रमले पछिल्लो वर्ष दिनमा पूरै गति लिएको छ । पशुपालक किसानको पशुधन क्षतिमा राहत हुने गरी शुरु यो कार्यक्रम अघिल्ला वर्षमा झापामा प्रायसः प्रभावहीन थियो ।
पशुपालनमै आश्रित व्यवसायिक रुपमा पशुपालनमा जुटेका किसान परिवारको संख्या झापामा ठूलो छ । तैपनि पशुबीमा बारे पर्याप्त जानकारी हुन नसक्दा तथा जानकारी भएर पनि बेलैमा बीमा गर्न नरुचाउँदा धेरै किसानले पशुधनमा गरेको ठूलो लगानी डुबाएका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा जिल्लामा पशुबीमा कार्यक्रम प्रभावकारी बनेको जिल्ला पशु सेवा कार्यालय झापाको तथ्यांकले देखाउँछ । पशुपालन व्यवसायलाई सुरक्षित र आकर्षक बनाउन सरकारले अनुदान सहितको पशु बीमा योजना दुई वर्षअघि लागू गरेको हो । यो योजना आर्थिक वर्ष २०७०÷०७१ मा सुरु भएको हो । तर योजना लागू भएको दुई वर्ष पूरा हुँदासम्म ज्यादै थोरै किसानसम्म मात्रै यो पुगेको थियो । जतिबेला सरकारले यो योजना ल्याएको थियो । त्यसबेला जिल्लामा ९ लाख १४ हजार २ सय २६ वटा पशुपालन भईरहेको थियो । यसमध्ये १ हजार १ सय ५३ वटा पशुको मात्रै बीमा भएको थियो ।
जिल्ला पशु सेवा कार्यालयका अधिकृत कुमारसिंह खत्रीका अनुसार आव २०७२÷०७३ मा भने बीमा गरिएका पशुको संख्या ह्वात्तै बढेको छ । एक वर्षमा बीमा गरिएका पशुको संख्या १४ हजार ५८ वटाले बढेको छ । आव २०७२÷७३ मा १ करोड ६४ लाख ९ हजार १३ वटा पशुको बीमा भएको कार्यालयको तथ्यांकले देखाएको छ । पशु बीमामा सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । पशुधन सुरक्षाका लागि किसानले बीमा प्रिमियमको २५ प्रतिशतमात्रै शुल्क बुझाउनुपर्ने नियम छ । जिल्लामा अन्य पशुको तुलनामा सवैभन्दा बढी गाईकै बीमा भएको छ । झापामा गाईपालन सबैभन्दा बढी पनि छ ।
आर्थिक वर्ष २०७१÷०७२ मा २ हजार २ र २०७२÷०७३ मा ३ हजार १ सय ८३ गाईको बीमा भएको थियो । अघिल्ला आर्थिक वर्ष २०७०÷०७१ र २०७१÷०७२ मा शून्य रहेको कुखुरा बीमा गर्ने काम आर्थिक वर्ष २०७२÷०७३ देखि किसानले सुरु गरेका छन् । पहिलोपटक ३ लाख २७ हजार ७ सय ७० बिमित रुपैयाँ बराबरका ११ हजार ३ सय कुखुराको बीमा भएको छ । यसैगरी किसानले व्यवसायिक रुपमा अस्ट्रिज पाल्न थालेपछि बीमा गर्न थालेका छन् । गत आर्थिक वर्षमा ४४ वटा अस्ट्रिज बीमा गरिएको खत्रीले जानकारी दिए । झापाको सिद्धार्थ, एनएली, सगरमाथा, नेको, शिखर, प्रडेन्सियल, युनाईटेड इन्स्योरेन्सलगायत कम्पनीहरुले पशु बीमा गर्दै आएका छन् । बेलाबेला फैलिने महामारीका कारण एकैपटक धेरै कुखुरा मर्ने भएकाले बीमा कम्पनीहरु कुखुराको बीमा गर्न त्यति उत्साहित हुँदैनन् । बर्डफ्लूका कारण एकैपटकमा धेरै कुखुरा मर्ने र त्यसको क्षतिपूर्ति सरकारले दिने भएकाले बीमा कम्पनीले नदिने खत्रीको भनाई छ । उनले पशुपालन नीति अनुसार २ हजारभन्दा बढी पंक्षी भए जिल्ला पशु सेवा कार्यालयमा, २० हजारभन्दा बढी पशु सेवा विभागमा दर्ता गर्नुपर्ने बताए । झापामा बंगुरको बीमा क्रम भने घटेको छ । भारत जान रोक लागेपछि बंगुरपालन नै घटेको खत्रीले बताए ।





