‘पूँजी बजारमा लगानीकर्ताहरू प्रविधिमैत्री हुँदै गएका छन्’

भिष्म ढुंगाना
अध्यक्ष
नेपाल धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले पछिल्लो समय चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनकरूपमा बढ्दै गएको छ । २०७७ असारसम्ममा करिब १७ लाखको संख्यामा रहेको डिम्याट खाताको संख्यामा करिब शत प्रतिशतको वृद्धि भै हाल ३५ लाख नाघेको अवस्था छ ।

२०७७ असारमा करिब ७ लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको संख्या समेत एक वर्ष नपुग्दै करिब साढे तीन गुणा भन्दा बढिले वृद्धि भै हाल करिब २६ लाख पुगिसकेको छ ।  त्यस्तै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकोमा हाल एउटै निष्काशनमा करिब १८ लाखले आवेदन दिने गरेको अवस्था श्रृजना भएको छ ।

२०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजारले युजर आई डि लिएकोमा यस अवधिमा उक्त संख्यामा उल्लेखनिय वृद्धि (करिव १७ गुणा भन्दा बढी) भैँ करिब ६ लाख ६० हजार रहेको छ भने औसतमा ६ लाख लगानीकर्ताहरू कारोबारमा सक्रिय रहेको देखिन्छ । पूँजी बजारमा लगानीकर्ताहरू क्रमशः प्रविधिमैत्री हुँदै गएको देखिन्छ ।

७८ अर्ब बराबरको पुँजी परिचालन

चालु आर्थिक वर्षको प्रथम दश महिनामा नै धितोपत्रको प्राथमिक बजार मार्फत करिब रू.७८ अर्ब बराबरको पुँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो । प्राथमिक बजारमार्फत् समाजमा छरिएर रहेको स–सानो बचत संकलन गरी दीर्घकालीन पुँजी उत्पादनशिल क्षेत्रमा परिचालन गर्न सहयोग पुर्याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको छ ।

दोस्रो बजारको स्थिति

दोस्रो बजारका परिसूचकहरू ऐतिहासिक उचाईमा रहेका छन् । नेप्से परिसूचक गत आषाढको १३६२ बिन्दुबाट करिब २९०० बिन्दुको हाराहारीमा रहेको छ भने १७ अर्बको हाराहारीमा दैनिक कारोबार हुन थालेको छ । कुल गार्हस्थ्य उत्पादनमा बजार पूँजीकरणको अनुपात गत वर्ष ४५ प्रतिशत मात्र रहेकोमा हाल कुल गार्हस्थ उत्पादन बराबर पुगेको छ । यसले धितोपत्रको बजार र तरलता बढेको पुष्टी गरेको छ ।

धितोपत्रको दोस्रो बजारमा समेत सक्रिय लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । खासगरी कोरोनाका कारण सरकारले घोषणा गरेको लकडाउन अवधिमा बोर्डको अग्रसरता तथा समन्वयमा नेप्से र सिडिएससिको कारोबार प्रणालीमा सुधारगरी पूर्ण रूपले अनलाइनमा आधारित बनाइएका कारण लगानीमा सहजता आएको छ ।

साथै कारोबारको लागत घटाइएका कारणले बजारप्रति सर्वसाधारणको आकर्षण बृद्धि भई व्यापक रूपमा सहभागिता बढ्न गएको देखिन्छ । यससँगै अर्थतन्त्रमा अन्य लगानी क्षेत्रहरूमा संकुचन आएको र बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेका कारण पनि दोस्रो बजार गतिविधिहरूमा ऐतिहासिक वृद्धि भएको अनुमान गर्न सकिन्छ ।

लामो समयदेखि स्पष्ट नभएको पूँजीगत लाभकर सम्बन्धी व्यवस्थालाई नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्राकृतिक व्यक्तिको विद्यमान पूँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई स्पष्ट गरिदिएपश्चात् लगानीकर्ताहरूको आत्मविश्वास अभिवृद्धि हुन सकेको छ । बजारको बढ्दो स्वरूपका कारण पछिल्लो समय नेपाल सरकारको राजस्वमा पूँजी बजार भरपर्दो स्रोतको रूपमा रहन थालेको छ । गत वर्षसम्म पूँजीगत लाभकरवापत सरकारलाई वर्षमा मुस्किलले रू. एक अर्ब सम्म योगदान पुर्याउन सकेकोमा हाल महिनामै सो भन्दा बढी रकम संकलन हुन सकेको छ ।

मुख्यतः तीन क्षेत्रमा जोड

बोर्डले आफ्नो गतिविधिहरूलाई मुख्यतः तीन क्षेत्रमा जोड दिएको छ । पहिलो, बजारको संरचनात्मक सुधार तथा परिवर्तन, दोस्रो, कानुनी तथा नीतिगत पक्षहरूको सुदृढिकरण र तेस्रोमा बोर्डको नियमन तथा सुपरिवेक्षकिय क्षमता अभिवृद्धि । र यि सबै पक्षलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्नेतर्फ हाम्रो विशेष चासो र प्राथमिकता रहि आएको छ । चालु आर्थिक वर्षमा बोर्डले कोरोना महामारीको जटिल परिस्थितिका बाबजुत देहायका पक्षहरूमा सुधार गर्न सकेको छ । समीक्षा वर्षमा बोर्डले धितोपत्र दलाल व्यवसायी शुल्कमा स-साना लगानीकर्ताको लागि ६० प्रतिशत र अन्य लगानीकर्ताको हकमा करिब घघ प्रतिशत, ऋणपत्र कारोबार शुल्कमा ५० प्रतिशतले कटौति गरेको छ ।

धितोपत्र व्यवसायीले आफ्नो खुद मुनाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । धितोपत्रको कारोबारको राफसाफ चक्रको अवधि T+3 लाई घटाई T+2 बनाएको छ । बोर्डको अनुगमन तथा सुपरिवेक्षण मोडालिटिलाई प्रभावकारी बनाउने सन्दर्भमा जोखिममा आधारित सुपरिवेक्षण निर्देशिका तर्जुमा गरी लागू गरिएको छ ।

बोर्ड र नियमन व्यवस्था तथा पुँजी बजारलाई प्रविधिमैत्री बनाउन SEBON ICT Operation Manual, 2020 तथा E-KYC लागू गरिएको छ भने सूचीकृत कम्पनी तथा बजार सम्बद्ध पक्षहरूद्वारा हुने विवरण प्रवाहका लागि भौतिक रूपमा कागजात पठाउनुपर्ने व्यवस्थालाई हटाई आधुनिक Electronic Reporting and Retrieval System-ERRS को विकास गरी Online बाटै पठाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।

धितोपत्रको प्राथमिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणको व्यवस्था गरी वास्तविक क्षेत्रका कम्पनीहरूलाई पुँजी बजारमार्फत पुँजी परिचालनका लागि आकर्षित गर्न बुक बिल्डिगं विधि लागू गरिएको छ। धितोपत्रको दोस्रो बजारमा संस्थागत लगानी बढाउन नागरिक स्टक डिलरलाई भित्र्याइएको छ। पूँजी परिचालनमा नयाँ संयन्त्रको विकास गर्ने उद्देश्यले पाँचवटा विशिष्टिकृत लगानी कोषहरूलाई सहमति प्रदान गरिएको छ।

दोस्रो बजारको पहुँच देशव्यापी बनाउनका लागि धितोपत्र दलाल व्यवसायीको शाखा विस्तार गर्न शुरू गरिएको छ।पहिलोपटक सूचीकृत कम्पनीका पूर्व सञ्चालकलाई सूचिकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ बमोजिम कारवाही गरिएको छ।यस्तै नियमानुसार वित्तीय विवरण पेश नगर्ने केही सूचीकृत कम्पनीको कारोबार रोक्का राख्ने गरिएको छ भने नेप्से र सूचीकृत कम्पनीलाई महत्वपूर्ण वित्तीय परिसुचकहरू आफ्नो वेबसाइटमा राख्न निर्देशन दिइएको छ।

बोर्डबाट धितोपत्र बजार सम्बन्धमा अध्ययन, नियमन तथा सुपरिवेक्षण गर्नुका साथै लगानीकर्ता मैत्री नीति नियम तर्जुमा गर्ने र भएका व्यवस्थाहरुमा समसामयिक पुनरावलोकन गर्ने कार्य हुदै आईरहेको छ।

बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्नेतर्फ पनि हामीले पहलकदमी लिएका छौं । खासगरी चार वर्षीय रणनीतिक योजनाः पूँजी बजारको दिगो एवं व्यवस्थित विकासका लागि बोर्डले प्रथम पटक चार वर्षीय रणनीतिक योजना (2020/21-2023/24) तयार गरी कार्यान्वयनमा लगेको छ।

बोर्डको नयाँ Organization and Management Survey लागूः बोर्डको बढ्दो कार्यक्षेत्र र जिम्मेवारीलाई वहन गर्न सक्ने गरी Organization and Management Survey नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएकोमा सो अनुसारको नयाँ संरचना लागू गरिएको र जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ।

Toronto Centre सँग सम्झौताः बोर्डको कर्मचारीको व्यवसायिकता तथा क्षमता अभिवृद्धिका लागि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम प्रदायक संस्था Toronto Centre सँग आगामी तीन वर्षका लागि साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरिएको छ।

ICAN सँग सम्झौताः सूचना आदान प्रदान एवं पारस्परिक सहयोगका लागी नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबिच MoU गरिएको छ।

बोर्डको कार्यालय स्थानान्तरणः बोर्डको बढ्दो कार्यजिम्मेवारी र जनशक्तिका कारण जावलाखेलस्थित भवन अनुपयुक्त भएकोले लामो प्रयासपश्चात ललितपुरको खुमलटारमा कार्यालय स्थानान्तरण गरिएको छ साथै बोर्डको स्थायी भवन निर्माण प्रयोजनार्थ जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाइएको छ। जग्गा प्राप्तिका लागि माननीय उपप्रधान मन्त्री तथा अर्थमन्त्रीज्यूबाट प्राप्त सहयोगको लागि बोर्ड आभार व्यक्त गर्दछ।

बोर्डको कार्य तथा जिम्मेवारीलाई सम्पन्न गर्न सक्ने गरी व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्ड ऐन तर्जुमा गर्ने योजनाका साथ अघि बढेका छौं। धितोपत्र बजारको विकासका लागि दीर्घकालिन योजना तयार गर्न तथा IT Roadmap तयार गर्न प्राविधिक सहयोगका लागि DFID सँग अनुरोध गरी सो कार्य अगाडि बढिरहेको छ।

 अध्ययन तथा अनुसन्धानः

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीतिगत व्यवस्था र कानुनी एवं संस्थागत पूर्वाधारको विकास तथा सुधारका लागि अध्ययन तथा अनुसन्धानमा आधारित नीति निर्माण तथा निर्देशन जारी गर्नुपर्ने आवश्यकता रहेको सन्दर्भमा बोर्डबाट चालु आ.व. मा देहाय बमोजिमका अध्ययन तथा अनुसन्धान कार्यहरु भएका छन् ।

बोर्डबाट धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी विभिन्न शैक्षिक तालिम संचालन तथा अध्ययन अनुसन्धान गरी नीति निर्माणमा सहयोग गर्न धितोपत्र तथा  फ्युचर्स बजार तथा वित्तीय शिक्षा प्रशिक्षण संस्था स्थापना सम्बन्धी अध्ययन भएको छ ।

धितोपत्र दलाल व्यवसायीको शुल्क पुनरावलोकन र धितोपत्र व्यवसायीको संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गर्ने सम्बन्धमा,

सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी अध्ययन र सो को आधारमा “सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी नियमावली, २०७७” को मस्यौदा गरिएको।

धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको आधिकारिक प्रतिनिधिको व्यवस्था सम्बन्धमा अध्ययन र सो को प्रतिवेदनका आधारमा आधिकारीक प्रतिनिधि प्रमाणीकरण तथा कार्य सञ्चालन सम्बन्धी निर्देशिका, २०७७ को मस्यौदा गरिएको,

राफसाफ कोष सम्बन्धी अध्ययन,

साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमई प्ल्याटफर्म संचालन सम्बन्धी अध्ययन,

निजी क्षेत्रमा नयाँ स्टक एक्सचेञ्जको संभावना सम्बन्धी अध्ययन,

कोभिड–१९ को महामारीबाट उत्पन्न विषम परिस्थितिका बीच धितोपत्र बजारमा देखिएको बृद्धि भएको परिप्रेक्ष्यमा बोर्डबाट धितोपत्र बजारको स्थिति, अर्थतन्त्रको अवस्था, नेप्से सूचकांक तथा व्याजदर, आपूर्ति र मार्जिन ऋणको सम्बन्ध, हालसाल मूल्यमा उतारचढाव देखिएका केही कम्पनीहरुको विश्लेषण, धितोपत्र बजार परिसूचक बढनुका कारण तथा धितोपत्र बजारमा गर्नुपर्ने कार्यहरु जस्ता विषयवस्तुहरु समेटी अध्ययन गरिएको छ । यस्तो प्रतिवेदनहरु जानकारीका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा समेत पेश गर्ने गरिएको छ ।

बोर्डले वित्तीय समावेशिता तथा म्युनिसीपल बण्ड सम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न गरिएकोमा सोमा सुधार गरी अन्तिम रुप दिने कार्य अगाडि बढेको छ ।

विद्यमान चुनौतीहरू 

धितोपत्र बजार स्वच्छ, पारदर्शी, अनुशासित, प्रविधिसम्पन्न तथा स्तरीय हुन जरूरी हुन्छ । नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्दै उपरोक्त पक्षहरूको विकास गरेर बजारमा स्थायित्व हासिल गर्नु आजको प्रमुख चुनौती रहेको छ।

बजारमा देखिएका अवाञ्चछित क्रियाकलाप, कारोबार तथा गतिविधिलाई कानूनको दायरामा ल्याई बजारलाई आगामी दिनमा स्वच्छ र विश्वासिलो बनाउन सबै पक्षको उत्तिकै सहयोग प्राप्त हुनुपर्नेछ।

आगामी प्राथमिकताहरू

बोर्डले आगामी दिनमा कारोबार व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने, ऋणपत्र बजारलाई गतिशिल बनाउने, नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने, संस्थागत व्यवसायलाई प्रवर्द्धन गरी सेवालार्इ प्रतिस्पर्धी एवम् सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिनेछ।

पछिल्लो समय कारोबार प्रणालीमा प्राविधिक जोखिम उच्च हुँदै जानुका साथै बजारमा नयाँ लगानीकर्ताहरूको ठूलो संख्यामा प्रवेश तथा कारोवार परिमाणमा उच्च बृद्धि र प्राथमिक बजारमार्फत् पुँजी परिचालन परिमाणमा समेत उच्च बृद्धि हुँदै गएको सन्दर्भमा बजारको बढ्दो माग तथा आपूर्तिलाई प्रभावकारी रूपमा व्यवस्थापन गरी बजारको विश्वसनीयता अभिबृद्धि तथा बढ्दो जोखिम व्यवस्थापन गर्न स्टक एक्सचेञ्जलाई प्रतिष्पर्धी बनाउन आवश्यक पहल गर्नुपर्ने देखिएको छ।

त्यस्तै, हालको दोस्रो बजार सञ्चालक नेप्से र केन्द्रीय निक्षेप सेवा तथा कारोवारको राफसाफ तथा फर्छयौट सेवा प्रदायक सिडिएससिको संरचनात्मक सुधार गरी क्षमता अभिवृद्धि गर्दै राफसाफ कोष समेत शिघ्र सञ्चालनमा ल्याउने व्यवस्था गरिनेछ।

समग्रमा हामी धितोपत्र बजारलाई प्रतिष्पर्धी एवं विश्वसनीय बनाउने, स्टक एक्सचेञ्जमा कारोबारका लागि एसएमइ को लागि छुट्टै प्लेटफर्मको स्थापना गर्ने, नेप्से परिसूचक तथा बजार परिसूचकहरूको गणना विधिमा सुधार गरी यर्थाथपरक बनाउने, वस्तु विनिमय बजार सञ्चालन गर्ने, इक्विटी डेरिभेटिभ्स लगायतका लगानीका उपकरणहरू थप्ने र समग्रमा पूँजी बजारसम्बन्धी सेवाहरूलाई प्रविधिसँग जोड्ने रणनीतिक योजनाकासाथ अघि बढेका छौं । यि लक्ष्यहरू उपलब्धीमा परिवर्तन हुँदै गर्दा केही वर्षहरूमा नै नेपालको पूँजी बजार नयाँ युगमा प्रवेश गर्ने कुरामा हामी विश्वस्त छौं र दृढसंकल्पित पनि छौं । यसमा नेपाल सरकार, अन्य नियमन निकायहरूको समन्वय, बजार सहभागीहरूको साथ र लगानीकर्ताको विश्वासले हामी थप उर्जाशिल भएका छौं।

बजारको स्वरूपमा व्यापक परिवर्तन हुँदै जाँदा हामीमा थपिने अर्को चुनौति भनेको सर्वसाधारणको पूँजी बजारसम्बन्धी साक्षरता हो।साक्षर एवं विवेकशिल लगानीकर्ता तयार पार्नका लागि बोर्डले हालको प्रशिक्षणसम्बन्धी कार्यक्रमको मोडललाई पनि परिवर्तन गर्दै व्यापक र प्रभावकारी बनाउने योजनाकासाथ हामी अघि बढेका छौं।

नेपाल सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट वक्तव्यमार्फत सामूहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गर्ने र लगानीकर्ताहरूले सेयर धारण गरेको अवधिका आधारमा पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने विगत ६\७ वर्ष अघिदेखी बजारबाट निरन्तररूपमा राखिदै आएको माग समेत सम्बोधन भएको छ ।

प्रस्तुत बजेटले पुँजी बजारको विकास र स्थायित्वमा जोड दिइने तथा आगामी वर्षदेखि वस्तु विनिमय बजार कारोबार संचालन गरिने कार्यक्रम समावेश भएकोमा उक्त कार्यक्रम बोर्डले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने/गराउनेछ । आ.व. २०७८/७९ को बजेटमार्फत् पूँजी बजार सुधार र विकासका लागि नेपाल सरकार प्राथमिकता दिएको छ । 

अन्त्यमा, धितोपत्र बजार र वस्तु विनिमय बजारको प्रभावकारी नियमन र विकास गर्दै नेपाल सरकारको आवधिक योजना, वित्तीय क्षेत्र विकास रणनीति र वार्षिक नीति तथा कार्यक्रमले तय गरेका लक्ष्य तथा कार्यक्रम निर्धारित समयसीमामा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै बजारको नियमन, विकास तथा सुधारका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियमन निकायहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, बजार सम्बद्ध पक्षहरू सबैबाट सदा झै निरन्तर सहयोग प्राप्त भैरहने छ भन्ने विश्वास लिएको छु।

(नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले बोर्डको २९ औं वार्षिक उत्सवमा राख्नुभएको मन्तव्यको सम्पादित अंश)


सोसिअल मेडिया