२०७३ भाद्र ६ गते

भारतीय केन्द्रीय बैंकका नयाँ गभर्नर उर्जित पटेलको जीवनी

Urjit-Patelभारतीय बैंकिङ क्षेत्रको लामो समयदेखिको प्रतीक्षामा पूर्णविराम लागेको छ । भारत सरकारले नयाँ गभर्नरमा उर्जित पटेललाई नियुक्त गरेर सो प्रतिक्षालाई टुंग्याएको हो । पटेल भारतका २४ औँ गभर्नर हुन् । पटेल ३ वर्षे कार्यकालका लागि भारतीय केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को एक जिम्मेवार पदमा नियुक्त भएका छन् । हाल भारतका गभर्नर रघुराम राजन छन् । उनले भारतीय बैंकिङ क्षेत्रका लागि थुप्रै्र राम्रा काम गरेको भन्दै उनलाई नै अर्को कार्यकाल थप्ने प्रस्ताव गरिएपनि उनले अस्विकार गरेपछि अन्ततः पटेल नयाँ गभर्नर बनेर आएका छन् । उनले आगामी सेप्टेम्बर ४ तारिखका दिन रघुराम राजनको कार्यकाल सकिएपछि आफ्नो कार्यभार सम्हाल्नेछन् ।  

को हुन् उर्जित पटेल ?
२८ अक्टोबर १९६३ मा जन्मेका उर्जित पटेलले लण्डन स्कुल अफ इकोनोमिक्सबाट बीए गरेका छन् । त्यस्तै, सन् १९९० मा उनले अर्थशास्त्र विषयमा एल युनिभर्सिटीबाट पीएचडी गरेका छन् । त्यसअघि, १९८६ मा उनले अक्सफोर्ड युनिभर्सिटीबाट एमफीलको डिग्री हासिल गरे । उर्जित पटेल भारतीय मुद्रास्फीति लक्ष्य र रेट सेटिंग प्यानलका एक प्रमुख वास्तुकार मानिन्छन् । जापानी कम्पनी नोमुराले उनलाई बाजको जस्तो दृष्टि भएको अर्थशास्त्रीको उपमा दिएका छन् । 

७ जुलाई २०१३ देखि उनी रिजर्भ बैंक अफ इण्डियामा डेपुटी गभर्नरको कार्यभार सम्हाल्दै आएका छन् । सन् १९९८ देखि २००१ सम्म उनले भारत सरकारको उर्जा, आर्थिक मामला विभागमा वित्तीय सल्लाहकारको रुपमा काम गरे । उनीसँग उर्जा, पूर्वाधार तथा वित्तीय क्षेत्रमा काम गरेको २ दशक लामो अनुभव छ । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा सन् १९९० देखि १९९५ सम्म काम गरे । १९९५ देखि १९९७ को बीचमा उनले आईएमएफकै तर्फबाट भारती रिजर्व बैंकमा प्रतिनियुक्तिमा काम गरे । सन् २००० देखि २००४ को बीचमा उनले राज्य तगा केन्द्रिय सरकारको उच्च स्तरीय समितिहरुमा आवद्ध रहेर काम गरे । त्यस्तै, वित्त मन्त्रालयको प्रत्यक्ष करका लागि बनेको  टास्क फोर्स र भारतीय प्रतिस्पर्धा आयोग जस्ता क्षेत्रमा समेत उनले काम गरेका छन् । उनले रिलायन्स इन्डस्ट्रीज लिमिटेडका अध्यक्ष भएर समेत काम गरिसकेका छन् । त्यस्तै, मल्टी कमोडिटी एक्सचेन्ज अफ इन्डियाको कार्यकारी निर्देशकका रुपमा समेत उनले काम गरिसकेका छन् ।