सहकारी क्षेत्रको तरलता व्यवस्थापन गर्न ३ अर्बको कोष स्थापना

बैंकिङ खबर/राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)ले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गर्ने भएका छन् । कोभिड–१९ का कारण सहकारी संघ संस्थाहरुमा हुन सक्ने तरलता अभाव सम्बोधन गर्न कोष स्थापन गर्न लागिएको हो । कोषमा सहकारी बैंकको २ अर्ब र नेफ्स्कुनको १ अर्ब रहने भएको छ ।
कोषबाट बैंक र नेफ्स्कुनका सदस्य संस्थाहरुले आफ्ना सदस्यहरुलाई आपतकालिन अवस्थामा दैनिक उपभोग्य वस्तु खरिद गर्न, जीवीकोपार्जन गर्न, स्वास्थ्य उपचार सम्बन्धी कार्य गर्न, स्वास्थ्य उपकरण खरिद गर्न तथा महामारी प्रभावसंग सम्बन्धीत कार्यको लागि तरलता पुँजी अभाव भएमा त्यस्ता संस्थाहरुलाई परिचालन गरिने छ ।

बैंक र नेफ्स्कुनले आफ्ना सदस्यहरुलाई उक्त कोषबाट ऋण लगानी गर्दा समान ब्याजदर कायम गरी लगानी गर्ने, एउटा संस्थालाई १ करोड रुपैयाँ वा संस्थाको कुल बचत निक्षेपको १० प्रतिशत मध्ये जुन कम हुन्छ सोही मात्रामा ऋण लगानी गर्ने सहमति भएको छ ।

यस्तै सदस्य संस्थाहरुलाई लगानी गर्न स्वीकृत गरिने ऋण एक जना शेयर सदस्यलाई बढीमा १ लाख रुपैयाँसम्म परिचालन गर्नु पर्ने, एकजना व्यक्तिले बैंक र नेफ्स्कुन दुबैबाट कोरोना महामारी तरलता व्यवस्थापन कोष २०७८ अन्तर्गतको ऋण लिन नपाउने, लगानी हुने ऋणको अवधि ६ महिनाको हुने, बैँक र संघले यो कोषको परिचालन सम्बन्धी एक अर्कालाई दैनिक रुपमा जानकारी गराउनुपर्ने लगायतका विषयमा सहमति भएको हो । कोष परिचालनका लागि बैंक र नेफ्स्कुनले आन्तरिक कार्यविधि बनाई लगानी गर्ने सहमति गरेका हुन् ।


सोसिअल मेडिया