बैंकिङ खबर / बस्तु विनीमयबाट सुरु भएको बैंकिङ क्षेत्र अब मोवाइलमा केन्द्रीत भएको छ । प्रविधिको विकाससँगै मोवाइल वालेटका प्रयोगकर्ताहरु र क्युआर प्रयोगकर्ताहरु दिनदिनै बढ्न थालेका छन् । जसकारण विस्तारै बैंकिङ सेवा मोवाइल र क्युआरतिरै तानीएको छ । मोवाइल वालेटबाट र क्युआर विभिन्न विलिङका लागि समेत सहज भएपछि युवा पुस्ता प्रविधिसँगै अघि बढ्न लागेको छ ।
त्यसो त कोभिडका कारण पछिल्लो समय क्यूआर कोडको प्रयोग बढेको छ । केन्द्रीय बैंक तथा अन्य विभिन्न बैंकवित्तले पनि यसलाई फोकस गर्दै आएका छन् । क्युआर सिष्टमको प्रयोग विशेषगरी क्यासलेस कारोबारलाई सार्थक बनाउनुका साथै सहजीकरणमा उत्तिकै महत्वपूर्ण मानिन्छ । यो प्रसासलाई सघाउन विभिन्न कम्पनीहरु अघि बढेका छन् । अहिले सबै क्युआरलाई एकीकृत गरेर कारोबारमा सहजीकरण गर्नका लागि एससिटी कम्पनीले डिजिटलाइजेशनमा नयाँ युग निर्माणको सुरुवात गरेको छ ।
बैंक हुनुअघिको बस्तु विनीमय
आफूसँग भएको वस्तु दिएर आफूलाई आवश्यक पर्ने वस्तु साटासाट गर्नु नै वस्तु विनिमय हो । मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । वस्तु–विनिमय गर्दा अनेकौँ किसीमका कठिनाईहरु झेल्नुपर्ने स्थिती थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, उनिहरुबीच वस्तु विनिमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो । अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो ।
मुद्राको सुरुवात
मुद्रा प्रचलन हुनुअघि कौडीको अभ्यास गरीएको हो । स्थानीय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु कौडि प्रयोग गरे । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले । त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो । नेपालमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो ।
कागजी नोटको सुरुवात
नेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो ।
प्रविधिको विकास
संस्थागत रुपमा बैंकको सुरुवात र निजी क्षेत्रको प्रवेशपछि बैंकिङ क्षेत्रमा प्रविधिको विकास हुन थाल्यो । अब नगदरहित (क्यासलेश) कारोबारको जमाना आइसकेको छ । चेक, टेलिबैंकिङ, एसएमएस बैंकिङ हुँदै मोबाइल बैंकिङसम्मको सुरुवात भइसकेको छ । बैंक खाता घरमै बसेर अनलाइनमार्फत खोल्ने सुविधा आइसकेको छ । डेबिट, क्रेडिट लगायत विभिन्न कार्डहरुका कारण बैंकिङ समयबाहेकको समयमा पनि कारोबार गर्न सहज बनाएको छ । एउटा बैंकको खातामा भएको पैसा अर्को बैंकको एटीएमबाट झिक्न मिल्ने सुविधा पनि उपलब्ध छ भने एउटा बैंकको खातामा रहेको रकम अर्कै बैंकको शाखामा गएर रकम जम्मा गर्न मिल्ने सुविधा समेत आइसकेको छ । प्रविधिको विकाससँगै मोवाइल वालेटका प्रयोगकर्ताहरु र क्युआर प्रयोगकर्ताहरु दिनदिनै बढ्न थालेका छन् । जसकारण विस्तारै बैंकिङ सेवा मोवाइल र क्युआरतिरै तानीएको छ । मोवाइल वालेटबाट र क्युआर विभिन्न विलिङका लागि समेत सहज भएपछि युवा पुस्ता प्रविधिसँगै अघि बढ्न लागेको छ ।
डिजिटल बैंकिङ अभियान व्यावहारिक रूपमै सार्थक
नेपालमा चलिरहेको डिजिटल बैंकिङ अभियान व्यावहारिक रूपमै सार्थक बन्दै गएको कारोबार संख्याले पुष्टि गरेको छ । नेपाल क्लियरिङ हाउस (एनसिएचएल) मार्फत हुने कारोबारमा ९ वर्षदेखि पहिलो नम्बरमा रहँदै आएको चेक पछिल्लो समय दोस्रो नम्बरमा पुगेको छ ।
कनेक्ट आइपिएसअन्तर्गत करिब १ करोड १७ लाख कारोबार भएको एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीलेश मान सिंह प्रधानले बैंकिङ खबरलाई जानकारी दिनुभएको छ । त्यस्तै, आइपिएसतर्फ कारोबार संख्या ८५ लाख पुगेको छ । सिइओ प्रधानका अनुसार समीक्षा अवधिमा एनसिएचएलले करिब १ करोड १० लाख चेक क्लियर गरेको छ ।
‘गत आवसम्म चेक नै पहिलो नम्बरमा थियो,’ सिइओ प्रधानले बैंकिङ खबरसितको अन्तर्वार्ताका क्रममा भन्नुभयो, ‘पछिल्लो समय चेकभन्दा कनेक्ट आइपिएसको कारोबार संख्या बढी छ ।’
पछिल्ला केही वर्षमा नेपालमा विद्युतीय माध्यमबाट हुने भुक्तानीले उत्साहजनक रूपमा फड्को मारेको र डिजिटल नेपालको अभियान क्रमशः सार्थक बन्दै गएको सिइओ प्रधानको अनुभव छ । यद्यपि, सम्पूर्ण बैंकिङ सेवाको डिजिटाइजेसनका लागि भने बैंकवित्तले अबको दोस्रो चरणमा इनोभेसनलगायतमा सक्रिय भूमिका खेल्नुपर्ने उहाँको बुझाइ छ ।
‘भोलि गएर कारोबारको मूल प्रवाह नै डिजिटल माध्यम बन्ने हुँदा सेवाप्रदायक संस्थाहरू र प्रयोगकर्ता दुवैले यसको प्रवर्धनमा सक्रिय भूमिका खेल्नुपर्छ । कोभिड महामारीको असहज अवस्थामा र पछि गएर पनि हामीले फिजिकल फाइनान्सियल सर्भिसहरू लिनुभन्दा डिजिटल माध्यमबाट लिनु उपयुक्त हुन्छ,’ सिइओ प्रधानको भनाइ छ, ‘डिजिटाइजेसनको यो अभियानमा एनसिएचएलले निर्वाह गर्नुपर्ने भूमिकाप्रति हामी कटिबद्ध छौँ ।’
नेपाल राष्ट्र बैंकको नेतृत्व र मार्गदर्शनमा भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) का रूपमा ८ पुस २०६५ मा स्थापित एनसिएचएलमा राष्ट्र बैंक, वाणिज्य बैंकहरू, विकास बैंकहरू, फाइनान्स कम्पनीहरूको हिस्सेदारी छ । अहिले प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवाप्रदायक संस्थाहरू, नेपाल सरकारका विभिन्न निकायहरू तथा सिआइटीलगायत लार्ज फन्ड म्यानेजरहरू कुनै न कुनै रूपमा एनसिएचएलसित आबद्ध छन् ।
मोबाइल वालेट
मोबाइल वालेट भनेको मोबाइलबाटै कारोबार गर्न सकिने व्यवस्था हो । यो विद्युतीय वालेट सेवा हो । मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यस सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ ।
क्यूआर कोड :
क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ । जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रुपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको छ । सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ ।
क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।
तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् । रकम भुक्तानीमा रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ । सबै किसिमका कस्टमर ब्राण्डका लागि क्यूआरकोड एउटा अनिवार्य आवश्यकता बनिसकेको छ । क्यूआर कोड प्रविधि सेवा तथा वस्तुको सजिलो र विश्वसनीय पहुँचको बाटो मात्र होइन, कम्पनीहरुका लागि आफ्नो ब्राण्ड स्टोरी सुनाउने माध्यम समेत बनेको छ । दैनिक अर्बौं मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरुले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरु एउटै सुपर एपभित्र समेटेर राखेका छन् ।
स्मार्ट क्यूआरको जमाना
अर्जुन वस्ताकोटी
भिजन मार्ट प्राइभेट लिमिटेड
स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) लिमिटेडको स्मार्ट क्युआर मेरो मार्ट भिजन मार्ट प्राइभेट लिमिटेडमा राख्दै आएको छु । अहिले दैनिक जसो यसको प्रयोग भइरहेको छ । यसले सहज बनाएको छ । यसबाट टच गर्न परेन । ग्राहकले टाढैबाट मोबाइलबाटै यसको प्रयोग गरेका छन् । अहिले कोरोना भाइरसको महामारीको समयमा सरकारले पनि निषेधाज्ञा जारी गरेको छ ।
यस्तो समयमा बिहान मात्र हामीले मार्ट सञ्चालन गरेका छौं । यो प्रयोग गर्नेको संख्या पनि बढिरहेको छ । कसैले अनलाईन बैंकिङबाट पनि ट्रान्सफर गरिरहेका हुन्छन् । यसको प्रयोग गर्ने को संख्या क्रमशः बढीरहेका छन् । ग्राहकहरु स्मार्ट क्युआर देख्दा खुसी भएर यसैबाट पैसा भुक्तानी गर्छन् । यसले धेरै सहज भएको छ । विस्तारै मान्छेहरु स्मार्ट क्युआर कोडको उपयोगिता बारेमा बुझ्दैछन् । अनलाइन भुक्तानीलाई आधुनिक, सहज र एकिकृत गर्न पेमेन्ट प्लाटर्फम स्मार्ट क्युआरबाट धेरै सहज भएको छ । स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो भएको छ । त्यसकारण यो कम्पनीलाई म धन्यवाद दिन चाहन्छु ।